• १७ कार्तिक २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु




घोराही, १५ असोज । नेपाली कम्युनिष्ट पार्टीले जनतासँगको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, जनजीविका र सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित दाङमा दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार देशव्यापी रूपमा सञ्चालन हुने अभियानको दाङमा आइतबार उद्घाटन गरिएको हो । अभियानमार्फत बाह्य हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा जनमत निर्माण गर्ने, कम्युनिष्ट विचार र सिद्धान्तबारे नागरिकलाई सचेत गराउने तथा बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतामाझ पुनः स्थापित गर्ने लक्ष्य राखिएको छ ।

अभियानले पार्टी संगठनलाई चलायमान बनाउने, नेता–कार्यकर्तालाई जनतासँग जोड्ने र जनताका समस्या, अपेक्षा तथा सुझाव बुझेर आगामी राजनीतिक कार्यदिशा तय गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण र निर्वाचनको प्रारम्भिक तयारीका रूपमा पनि अभियानलाई अघि बढाउन खोजिएको जिल्ला इञ्चार्ज निर्मल आचार्यले जानकारी दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी दाङका संयोजक भुपबहादुर केसीको अध्यक्षता तथा पार्टी केन्द्रीय कार्यसम्पादन समितिका सदस्य कुबेर वलीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वलीले अभियानले पार्टीमा नयाँ ऊर्जा र उत्साह थप्दै राष्ट्रहितका पक्षमा पार्टीलाई पुनः जनतामाझ फर्काउने बताउनुभयो । उहाँले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा कम्युनिष्ट विचार र सिद्धान्तका आधारमा नागरिकलाई सचेत बनाउँदै राष्ट्रिय एकता, विकास र समृद्धिका लागि जनमत निर्माण गर्न अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियान पार्टी संगठनलाई सुदृढ बनाउने, जनताका समस्या बुझ्ने र राष्ट्रहितका सवालमा नागरिकलाई एकताबद्ध गर्ने अवसरसमेत हुनेछ ।

कार्यक्रममा केन्द्रीय सदस्य सशमति चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो । जिल्ला इञ्चार्ज निर्मल आचार्यले अभियानको उद्देश्य र कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।कार्यक्रममा लुम्बिनी प्रदेशका सहइन्चार्ज प्रकाश अधिकारी, केन्द्रीय सदस्य हेमराज शर्मा र केन्द्रीय सदस्य अनारकली मियाँले अभियानको उद्देश्य र औचित्यबारे धारणा राख्नुभएको थियो । केन्द्रीय सदस्य तुलसी डाँगी मिलनले सर्कुलर वाचन गर्नुभएको थियो।

राष्ट्रिय जागरण अभियानको उद्देश्य, कार्ययोजना र सञ्चालन प्रक्रियाबारे पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण रामबहादुर दहितले गर्नुभएको थियो ।

पार्टी केन्द्रको कार्ययोजनाअनुसार अभियानका क्रममा सदस्यता नवीकरण, संगठन विस्तार तथा सुदृढीकरण, पार्टी समायोजनका बाँकी काम पूरा गर्ने र राष्ट्रिय महाधिवेशनको तयारीलाई अघि बढाइनेछ । त्यस्तै, जनताका गुनासा तथा जनजीविकासँग जोडिएका समस्या संकलन गरी समाधानका लागि पहल गर्ने, सरकारका जनविरोधी गतिविधिविरुद्ध खबरदारी गर्ने र आवश्यकताअनुसार जनपरिचालन गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टीको जनाधार, संगठनात्मक अवस्था र राजनीतिक प्रभावको अध्ययन गरी निर्वाचन रणनीति निर्माण गर्ने उद्देश्य पनि अभियानले राखेको छ । यससँगै पार्टीलाई जनतासँग पुनः जोड्ने, विगतका कमजोरीको समीक्षा गर्ने र जनअपेक्षाअनुसार पार्टीको रूपान्तरण गर्ने लक्ष्य लिइएको इञ्चार्ज आचार्यले जानकारी दिनुभयो । घोराही १८ कटुवाखोलास्थित एस प्यालेसमा कार्यक्रम भएको थियो ।

Facebook Comments