गढवा । दाङको गढवा गाउँपालिकाका थप पाँच सुकुम्बासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । गाउँपालिकामा आयोजित कार्यक्रममा पाँच परिवारलाई जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलका अनुसार भूमिहीन तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ । त्यसक्रममा लगत सङ्कलन, प्रमाणीकरण, जग्गाको नापजाँच तथा पुर्जा वितरण गर्न मिल्ने सकारात्मक सूचीमा रहेका जग्गाको पहिचानलगायतका काम भइरहेका छन् ।

अध्यक्ष पोख्रेलले स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने अधिकांश काम सम्पन्न भइसकेको जानकारी दिँदै जिल्ला सुकुम्बासी समस्या समाधान समितिले पनि तदारुकताका साथ काम गरेमा ठूलो सङ्ख्यामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने अवस्था रहेको बताउनुभयो ।
आगामी दिनमा अझ ठूलो सङ्ख्यामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
