नेपाली युवाले निर्माण गरेका मोबाइल गेम तथा सफ्टवेयरले अन्तर्राष्ट्रिय बजारमा पहिचान स्थापित गरिरहेका बेला सरकारले सूचना प्रविधि उद्योगलाई प्रवर्द्धन गर्ने नीति अघि बढाउने घोषणा गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नीतिगत सुधार, कर सहुलियत र लगानीमैत्री वातावरण निर्माण गर्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नेपाली युवाले निर्माण गरेका गेम विश्वभर लोकप्रिय भइरहेको उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधानका लागि गृहकार्य सुरु गरिएको जानकारी दिएका हुन् । उनका अनुसार नेपालीले विकास गरेको लुडो गेम २० करोडभन्दा बढी र कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन् ।
नेपाली कम्पनीले विकास गरेका यी गेमको लोकप्रियताले नेपालमा सूचना प्रविधिको क्षेत्रमा रहेको सम्भावना उजागर गरेको छ । मोबाइल गेम निर्माणदेखि जटिल सफ्टवेयर तथा कृत्रिम बुद्धिमत्तामा आधारित उत्पादनसम्म नेपाली प्राविधिक जनशक्तिको संलग्नता बढिरहेको छ ।
सफ्टवेयर निर्यातदेखि कृत्रिम बुद्धिमत्तासम्म

नेपालबाट निर्यात भइरहेका सूचना प्रविधिसम्बन्धी सेवामा सफ्टवेयर विकास, वेबसाइट तथा मोबाइल एप निर्माण, सफ्टवेयर परीक्षण, ग्राफिक डिजाइन, डेटा प्रशोधन र डिजिटल मार्केटिङ प्रमुख छन् । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, स्वास्थ्यसम्बन्धी तथ्याङ्क विश्लेषण र व्यावसायिक स्वचालन प्रणालीको विकासमा समेत नेपाली कम्पनीको संलग्नता बढेको छ ।
विदेशी कम्पनीका लागि नेपालमै बसेर सफ्टवेयर निर्माण गर्ने, प्राविधिक सहयोग उपलब्ध गराउने र विभिन्न व्यावसायिक तथ्याङ्क प्रशोधन गर्ने काम पनि निर्यातको महत्वपूर्ण हिस्सा बनेको छ । नेपाली कम्पनीहरूले विशेषगरी अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपेली मुलुकका ग्राहकलाई सेवा उपलब्ध गराइरहेका छन् ।
फ्युजमेसिन्सलगायतका नेपाली कम्पनी कृत्रिम बुद्धिमत्तासम्बन्धी सेवा तथा प्रविधि विकासमा सक्रिय छन् । यसले नेपाल सूचना प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउने मुलुक मात्र नभई आफ्नै डिजिटल उत्पादन विकास गर्न सक्ने क्षमतातर्फ अघि बढिरहेको देखाउँछ ।
एक लाखभन्दा बढी जनशक्ति संलग्न

नेपालको सूचना प्रविधि उद्योगमा करिब एक लाख जनशक्ति सक्रिय रहेको उद्योगीहरूको अनुमान छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) का अध्यक्ष गौरव राज पाण्डेका अनुसार सन् २०२५ मा नेपालको आईटी सेवा निर्यात करिब एक अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । यो रकम नेपाली रुपैयाँमा करिब एक खर्ब ४५ अर्ब रुपैयाँ हुन्छ ।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सन् २०२३ मा सार्वजनिक गरेको अध्ययनअनुसार सन् २०२२ मा नेपालबाट ५१ करोड ५० लाख अमेरिकी डलर बराबरको आईटी सेवा निर्यात भएको थियो । अध्ययनले त्यतिबेला १०६ वटा आईटी निर्यात कम्पनी र डिजिटल प्लेटफर्ममार्फत सेवा निर्यात गर्ने ६६ हजार ५०९ जना जनशक्ति पहिचान गरेको थियो ।
नेपाल राष्ट्र बैंकको औपचारिक अभिलेखमा भने आर्थिक वर्ष २०८१/८२ मा दूरसञ्चार, कम्प्युटर तथा सूचना सेवाको निर्यात २२ अर्ब ३३ करोड रुपैयाँ देखिन्छ । उद्योगीहरूले वास्तविक निर्यात आम्दानीभन्दा सरकारी अभिलेखमा देखिने रकम कम रहेको बताउँदै आएका छन् । विदेशी ग्राहकबाट प्राप्त कतिपय भुक्तानी रेमिट्यान्सका रूपमा अभिलेख हुने तथा स्वतन्त्र रूपमा काम गर्ने जनशक्तिको आम्दानी औपचारिक निर्यात तथ्याङ्कमा नसमेटिने समस्या रहेको उनीहरूको भनाइ छ ।
नीतिगत सुधारसँगै अवसरको खोजी
सूचना प्रविधि उद्योगको विस्तारसँगै यस क्षेत्रमा नीतिगत तथा व्यावहारिक सुधारको आवश्यकता पनि बढेको छ । विदेशी ग्राहकबाट प्राप्त आम्दानी नेपाल भित्र्याउने प्रक्रिया, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा पहुँच, विदेशी मुद्रा कारोबार, करसम्बन्धी व्यवस्था र प्राप्त आम्दानी पुनः लगानी गर्ने प्रक्रियालाई सहज बनाउनुपर्ने माग व्यवसायीहरूले गर्दै आएका छन् ।
त्यसैगरी दक्ष जनशक्ति पलायन रोक्ने, प्राविधिक शिक्षालाई उद्योगको आवश्यकतासँग जोड्ने, अनुसन्धान तथा नवप्रवर्तनमा लगानी बढाउने र नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने वातावरण बनाउनुपर्ने देखिन्छ ।
प्रधानमन्त्री शाहले गेम जाम, स्टार्टअप कार्यक्रम र ह्याकाथनजस्ता गतिविधिमा लगानी गर्ने तथा सूचना प्रविधि क्षेत्र, राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच नियमित संवादको व्यवस्था गर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी नियम, कर प्रणाली र लगानीका नीतिहरू पुनरावलोकन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । नेपालबाटै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अर्ब डलर मूल्याङ्कनका कम्पनी (युनिकर्न) निर्माण गर्न सहज वातावरण बनाउने उनको भनाइ छ ।
नेपालमा जलविद्युत्, पर्यटन र कृषिसँगै सूचना प्रविधि पनि वैदेशिक मुद्रा आर्जनको महत्वपूर्ण आधार बन्न सक्ने सम्भावना छ । यसका लागि सरकारको घोषणा कार्यान्वयनमा जानु, निजी क्षेत्रलाई प्रोत्साहन गर्नु र दक्ष जनशक्तिलाई देशभित्रै अवसर उपलब्ध गराउनु आवश्यक छ ।
लुडो र कलब्रेकले विश्व बजारमा स्थापित गरेको नेपाली पहिचानलाई अन्य डिजिटल उत्पादन र प्रविधिमा विस्तार गर्न सके सूचना प्रविधि उद्योग नेपालको अर्थतन्त्रको नयाँ आधार बन्न सक्छ । नेपाली युवाको सिर्जनशीलता र प्राविधिक क्षमतालाई उचित नीति, लगानी र अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके नेपालबाटै विश्वस्तरका प्रविधि कम्पनी निर्माण गर्ने सम्भावना प्रशस्त छ ।

केसी सिस्ने अनलाइनका सम्पादक हुनुहुन्छ ।
