घोराही। समाजका विभिन्न क्षेत्रमा रहेर उल्लेखनीय योगदान पुर्याएका महिलाहरूलाई सम्मान गर्ने उद्देश्यसहित दाङ महिला जेसिजले ‘बुँदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कार–२०२६’ का लागि आवेदन आह्वान गरेको छ।
पुरस्कार वितरण कार्यक्रमलाई लक्षित गर्दै दाङ महिला जेसिजले शुक्रबार पत्रकार सम्मेलनमार्फत आवेदन खुला गरेको जानकारी दिएको हो। संस्थाले विभिन्न क्षेत्रमा सक्रिय रही सामाजिक परिवर्तन र विकासमा योगदान पुर्याएका महिलाहरूलाई आगामी १५ दिनभित्र आवेदन पेस गर्न आग्रह गरेको छ।
दाङ महिला जेसिजकी अध्यक्ष अर्चना शर्माले महिलाहरूको क्षमता, प्रतिभा र समाजप्रतिको योगदानको पहिचान गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्न लागिएको बताउनुभयो। उहाँले योग्य तथा उदाहरणीय काम गरेका महिलाहरूले अवसरको सदुपयोग गरी आवेदन दिन आग्रह गर्नुभयो।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले महिलाहरूले समाजका हरेक क्षेत्रमा पुर्याएको योगदानको उचित सम्मान र मूल्यांकन हुनुपर्ने धारणा राख्नुभयो। उहाँले वास्तविक रूपमा समाज परिवर्तनमा भूमिका निर्वाह गरेका महिलाहरूको पहिचान गरी सम्मान गर्न सके यस्ता कार्यक्रमको सार्थकता बढ्ने बताउनुभयो।
त्यस्तै, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले पुरस्कार छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र योगदानमा आधारित हुनुपर्नेमा जोड दिनुभयो। महिलाहरूको क्षमता र सफलतालाई समाजसामु चिनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बसन्ती सुवेदीले सहजीकरण गर्नुभएको थियो।
दाङ महिला जेसिजले यस पुरस्कारमार्फत सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, साहित्यिक, व्यावसायिकलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरूको पहिचान, सम्मान र प्रोत्साहन गर्ने लक्ष्य राखेको जनाएको छ। प्राप्त आवेदनको मूल्यांकन गरी योग्य महिलालाई छनोट गरेर पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
