दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउनुका साथै घोराही बजारको समग्र व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेको छ।
चाडपर्वको समयमा बजारमा हुने भीडभाड, सवारीसाधन तथा अटो व्यवस्थापन, पार्किङ, बजार अनुगमन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार घोराहीमा छलफल कार्यक्रम आयोजना गरिएको हो।
संघका अध्यक्ष ध्रुवकुमार गहतराजको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय सरकार, प्रशासन, प्रहरी, व्यवसायी तथा उपभोक्ता अधिकारकर्मीको सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्ष गहतराजले घोराही बजारलाई व्यवस्थित बनाउने र चाडपर्वको समयमा सर्वसाधारणले सहज रूपमा किनमेल तथा आवतजावत गर्न सक्ने वातावरण निर्माण गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बजार व्यवस्थापन कुनै एक निकायको मात्र जिम्मेवारी नभएकाले स्थानीय सरकार, प्रशासन, प्रहरी र व्यवसायीबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो।
साथै अध्यक्ष गहतराजले बजारको व्यवस्थापन र चाडपर्वलाई शान्तिपूर्ण बनाउन व्यवसायी तथा सरोकारवाला सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले बजारमा देखिने पार्किङ, अटो व्यवस्थापन, व्यवसायी तथा उपभोक्ताले भोग्नुपर्ने समस्याको समाधानका लागि निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा कार्यवाहक नगर प्रमुख डिसीले घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनका लागि विभिन्न नीति तथा नियम बनाएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्ने बताउनुभयो। उहाँले अटो व्यवस्थापन, पार्किङ तथा म्याद गुज्रिएका सामान बिक्री नगर्ने विषयमा व्यवसायीलाई सहयोग गर्न आग्रह गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेयले बजार अनुगमन चाडपर्व लक्षित मात्रै नभई नियमित रूपमा भइरहेको बताउनुभयो। केही स्थानमा व्यवसायीले नैतिकता र व्यावसायिक जिम्मेवारीलाई बेवास्ता गरेको पाइएको उल्लेख गर्दै उहाँले आफू पनि उपभोक्ता हुँ भन्ने सोचेर व्यवसाय सञ्चालन गर्न सुझाव दिनुभयो।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले पटाका तथा विस्फोटकजन्य सामग्रीको नियन्त्रणका लागि नाकाक्षेत्रबाटै निगरानी र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिनुभयो। लुकिछिपी यस्ता सामग्री भित्र्याएको वा बिक्री गरेको पाइएमा प्रहरीलाई गोप्य सूचना उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण पुडासैनी, घोराही–१४ का वडाध्यक्ष भानसिं बुढामगर, संघका मानार्थ सदस्य रामदयाल गुप्ता, पूर्वअध्यक्षहरू माधव शर्मा र नारायणप्रसाद भुसाल तथा उपभोक्ता हितका क्षेत्रमा क्रियाशील केशवकुमार शर्मालगायतले बजार व्यवस्थापन विषयमा धारणा राख्नुभएको थियो।
संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र बुढाथोकीले विषय प्रवेश गराउनुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष वसन्त जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। वाणिज्य उपाध्यक्ष नोर्बु तामाङ लामाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव माधव खनालले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
