घोराही । पत्रकारिता, सञ्चार, सामाजिक सञ्जाल, तथ्यपूर्ण समाचार तथा पत्रकारितामा विद्यार्थीको भूमिकाबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले गुरुकुल एकेडेमी घोराही–१५, रतनपुरमा ‘पत्रकारसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ।
प्लस टुमा अध्ययणरत विद्यार्थीलाई पत्रकारिता क्षेत्रका अवसर, चुनौती, सञ्चारमाध्यमको भूमिका तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबारे प्रत्यक्ष रूपमा जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिता र सञ्चार क्षेत्रका विविध पक्षबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले पत्रकारिता कसरी सुरु गर्ने, पत्रकार बन्न आवश्यक सीप तथा दक्षता, समाचार तयार गर्ने प्रक्रिया, पत्रकारितामा सत्यतथ्यको महत्व, सामाजिक सञ्जालको प्रभाव तथा पत्रकारको जिम्मेवारीलगायत विषयमा प्रम्ुख अतिथिसँग जिज्ञासा राखेका थिए। विद्यार्थीका प्रश्नहरूको जवाफ दिँदै प्रमुख अतिथि प्रियासनले पत्रकारिता केवल समाचार लेख्ने पेशा मात्र नभई समाजका आवाज, समस्या र घटनालाई जिम्मेवार ढंगले सार्वजनिक गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको थियो। उहाँले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीले अध्ययनसँगै लेखन, सूचना संकलन, प्रश्न गर्ने क्षमता, सञ्चार सीप र तथ्य पहिचान गर्ने दक्षता विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो।
पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै गलत तथा अपुष्ट सूचना फैलिने जोखिमसमेत बढेकाले कुनै पनि सूचना सार्वजनिक गर्नुअघि त्यसको सत्यता र विश्वसनीयता जाँच गर्नुपर्ने विषयमा समेत कार्यक्रममा चर्चा गरिएको थियो।कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो। प्रत्यक्ष रूपमा पत्रकारसँग प्रश्नोत्तर गर्न पाउँदा विद्यार्थीहरूले पत्रकारिता र सञ्चार क्षेत्रका विषयमा थप ज्ञान तथा व्यावहारिक जानकारी हासिल गर्ने अवसर पाएका थिए।
कार्यक्रमको अध्यक्षता गुरुकुल एकेडेमीका प्रधानाध्यापक प्रदीप राजभण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका प्लस टु संयोजक राजन अधिकारीले गर्नुभएको थियो। विद्यालयले विद्यार्थीको पाठ्यपुस्तकीय ज्ञानसँगै समाज, सञ्चार, पत्रकारिता र समसामयिक विषयप्रति व्यवहारिक ज्ञान तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
