• ७ कार्तिक २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
डिग्रे मन्दिरमा चहलपहल सुरु, दर्शनार्थी बढ्दै (फोटो फिचर)




रुकुम पश्चिमको मुसिकोट नगरपालिका थर्पुस्थित प्रसिद्ध डिग्रे साईकुमारी भगवती मन्दिरमा लाग्ने ऐतिहासिक तथा धार्मिक महत्त्वको डिग्रे मेला आउनु एक महिना अघि नै चहलपहल बढ्न थालेको छ ।

मेला नजिकिएसँगै मन्दिरमा पूजाआजा तथा दर्शनका लागि आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ । देवीप्रतिको अटुट आस्था, परम्परागत पूजा विधि र मौलिक सांस्कृतिक प्रस्तुतिले डिग्रे मेला क्षेत्रलाई उत्सवमय बनाउँदै लगेको छ ।

हरेक वर्ष हरिबोधनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने यस मेलामा रुकुम पश्चिमसहित रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट, दाङलगायत विभिन्न जिल्लाबाट श्रद्धालुहरू आउने गर्छन् । मनोकामना पूरा हुने विश्वासका साथ देवीको दर्शन गर्ने, पूजा गर्ने र भाकल चढाउने परम्पराले मेलाको धार्मिक महत्त्वलाई अझ गहिरो बनाएको छ ।

डिग्रे मेला धार्मिक आस्थाको केन्द्र मात्र होइन, स्थानीय कला, संस्कृति र परम्पराको जीवन्त उत्सव पनि हो । मेलामा प्रस्तुत हुने सगाल नाच, लट्ठी नाचलगायतका मौलिक सांस्कृतिक गतिविधिले पुस्तौँदेखि जोगिँदै आएको सांस्कृतिक पहिचानलाई उजागर गर्छन् । मेलाले स्थानीय व्यापार, जनजीवन र सामाजिक सम्बन्धमा समेत रौनक थप्ने गरेको छ ।

मन्दिर परिसरमा बढ्दो चहलपहल, दर्शनका लागि आउने भक्तजनको भीड र मेला क्षेत्रको उत्साहले डिग्रेमा पर्वको माहोल सिर्जना हुँदै गएको छ । धार्मिक विश्वास, सांस्कृतिक विरासत र सामुदायिक एकताको प्रतीक बनेको डिग्रे मेलाका यी दृश्यहरूले रुकुम पश्चिमको मौलिक पहिचानलाई झल्काउँछन् ।





Facebook Comments