• ३ कार्तिक २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जरेनीमा चन्द्र सूर्य युवा क्लबको दशैं मेला




रोल्पा, २ कार्तिक ।
रोल्पाको परिवर्तन गाउँपालिका-६ जरेनीमा चन्द्र सूर्य युवा क्लबको आयोजनामा सञ्चालन भएको दशैं मेला विभिन्न रचनात्मक तथा खेलकुद प्रतियोगिताहरूसहित भव्य रूपमा सम्पन्न भएको छ । ‘खेलकुदको जोस, कला संस्कृतिमा गर्व, वातावरण जोगाउने जिम्मेवारीका साथ मनाऔं यो भव्य पर्व’ भन्ने मूल नाराका साथ गत असोज ३० गतेदेखि सुरु भएको मेला कार्तिक १ गतेसम्म सञ्चालन भएको थियो ।

मेलाको औपचारिक उद्घाटन परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले गर्नुभएको थियो । मेला समापन समारोह क्लबका अध्यक्ष कमल प्रकाश बिष्टको अध्यक्षता तथा वडा सदस्य खड्क बहादुर ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा इलाका प्रहरी कार्यालय पाछावाङका वरिष्ठ सब-इन्स्पेक्टर (सइ) नरसिंह खत्री, परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य तुफान महर र जलजला युवा क्लब पाछावाङका सचिव सुरेन्द्र महर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका कानुनी सल्लाहकार आकाश ओलीले गर्नुभएको थियो ।

नारालाई सार्थक पार्दै मेलाको मुख्य आकर्षणको रूपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि पाछावाङ ६, पाहावाङले हात पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पाहावाङले चुन्वाङ १, बारगाउँलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्‍यो । बारगाउँ दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो भने आयोजक चन्द्र सूर्य युवा क्लब जरेनीले तेस्रो स्थान हासिल गरेको छ ।

कला र संस्कृतिको प्रवर्द्धनका लागि मेलामा एकल नृत्य र घैँटोफोर प्रतियोगिता आयोजना गरिएको थियो भने बौद्धिक विकासका लागि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो । यसैगरी, वातावरणीय जिम्मेवारीलाई आत्मसाथ गर्दै आयोजना गरिएको ‘थ्रेस रेस’ (फोहोर टिप्ने प्रतियोगिता) मेलाको विशेष र उदाहरणीय आकर्षण बनेको थियो । प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै मेला समापन गरिएको क्लबले जनाएको छ ।

Facebook Comments