• २८ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
यस्तो छ चिनियाँ कम्युनिस्ट पार्टीको नवीकरण अभ्यास




बिल्जाना भान्कोभ्स्का

धेरै पश्चिमी देशहरूमा राजनीतिक दलहरू दीर्घकालीन नीतिगत दृष्टिकोण, संस्थागत निरन्तरता र ठोस उपलब्धिभन्दा निर्वाचन जित्न र राजनीतिक सत्ता हासिल गर्न बढी केन्द्रित हुँदै गएका छन्। यस्ता धेरै संगठनहरू ‘सुल्तान पार्टी’ जस्तै बनेका छन्, जहाँ निर्णयहरू माथिल्लो तहबाट गरिन्छन् र ती निर्णय गर्ने नेतृत्व आलोचना तथा जवाफदेहिताबाट अलग रहन्छ।

यसको विपरीत, आफ्नो १०५औँ स्थापना दिवस मनाएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) आत्मसुधारको एउटा नमुनाका रूपमा रहेको छ। यसको दृष्टिकोण तीनवटा प्रमुख अवधारणामा आधारित छ- आत्मशासन, आत्मपरिष्कार र आत्मसुदृढीकरण । यी तीनवटै अवधारणामा सबैभन्दा महत्त्वपूर्ण शब्द ‘आत्म’ हो, जसले पार्टी आफैँलाई अनुशासित र व्यवस्थित बनाउने प्रतिबद्धतालाई जोड दिन्छ। सीपीसीले सुधारलाई आफ्नै जिम्मेवारीका रूपमा लिन्छ। समस्याको समाधान बाहिर खोज्ने वा त्यसको दोष अरूमाथि थोपर्ने काम गर्दैन।

यी तीनवटै प्रक्रिया एकअर्काका पूरक हुन् र एकै समयमा अघि बढ्छन्। यसको कारण पार्टीले सहकार्य, समन्वय र सामञ्जस्यका माध्यमबाट काम गर्छ। एउटा प्रक्रियाले अर्कोलाई प्रभाव पार्छ र त्यसबाट पुनः अर्को प्रक्रिया सुदृढ हुन्छ।

आत्मशासन: पहिलो आधारस्तम्भ

आत्मशासन भनेको पार्टीले आफूलाई आफैँ नियमन र अनुशासित गर्ने प्रतिबद्धता हो। लामो समयसम्म सत्तामा रहने राजनीतिक संगठनहरूमा कर्मचारीतन्त्रको विकृति, आत्मसन्तुष्टि र विशेष सुविधाप्रतिको आकर्षण बढ्न सक्छ। सीपीसीले यस खतराको सामना गर्न ‘आफैँमाथि धारिलो हतियार चलाउने’ क्रान्तिकारी साहस देखाएको छ।

भ्रष्टाचारविरोधी अभियान र कडा आठबुँदे नियमावली पार्टीलाई भित्रैबाट कमजोर बनाउने विकृति हटाउन गरिएका आवश्यक हस्तक्षेप हुन्। सबै तहका अधिकारीलाई जवाफदेही बनाएर सीपीसीले आफ्ना कार्यकर्ताको सुविधाभन्दा राजनीतिक अनुशासन, इमानदारी र जनताको विश्वासलाई प्राथमिकता दिन्छ।

आत्मपरिष्कार: दोस्रो आधारस्तम्भ

आत्मपरिष्कार भन्नाले राजनीतिक कार्यकर्तालाई निरन्तर शिक्षा, तालिम, छनोट, मार्गदर्शन र राजनीतिक संगठनभित्र क्रमिक जिम्मेवारी प्रदान गरेर व्यवस्थित रूपमा सक्षम बनाउनु हो।

सत्तासँगको निकटताका आधारमा छिटो पदोन्नति हुने व्यवस्थाभन्दा फरक, सीपीसीले आफ्ना नेताहरू संयोगवश अधिकारसम्पन्न पदमा पुग्ने होइनन् भन्ने मान्यता राख्छ। उनीहरू योग्यता, कडा परिश्रम र वर्षौँसम्म आफूलाई प्रमाणित गरेपछि नेतृत्वमा पुग्छन्। यस दृष्टिकोणले संगठनप्रतिको सम्मान बढाउँछ र समर्पण तथा उपलब्धिका आधारमा नेतृत्व विकास गर्न सहयोग गर्छ, न कि संयोग वा विशेष सुविधाका आधारमा।

८० करोडभन्दा बढी मानिसलाई चरम गरिबीबाट बाहिर निकाल्नु तथा सुदृढ स्वास्थ्य सेवा र सामाजिक सुरक्षा प्रणाली निर्माण गर्नुजस्ता पार्टीका ठोस उपलब्धिले जनतासँगको गहिरो सम्बन्ध प्रतिबिम्बित गर्छन्। जनतालाई केन्द्रमा राख्ने यो दृष्टिकोण पुँजीवादी लोकतन्त्रहरूमा देखिने ‘विश्वासको सङ्कट’ समाधान गर्ने प्रभावकारी उपाय हो।

आत्मसुदृढीकरण: तेस्रो आधारस्तम्भ

आन्तरिक अनुशासनले स्वाभाविक रूपमा तेस्रो आधारस्तम्भ-आत्मसुदृढीकरणलाई बलियो बनाउँछ। पश्चिमी लोकतन्त्रका धेरै राजनीतिक दलहरू विभाजन, संस्थागत गतिरोध र तीव्र चुनावी प्रतिस्पर्धाबीच दीर्घकालीन नीतिगत निरन्तरता कायम राख्ने कठिनाइजस्ता चुनौतीसँग जुधिरहेका छन्।

मतदाताहरू हावामा हल्लिने निगालोजस्तै भएका छन्। उनीहरू राजनीतिक दल परिवर्तन गर्दा नै कठिन परिस्थितिबाट मुक्ति पाइन्छ भन्ने आशामा एउटा दलबाट अर्को दलतिर लाग्छन्। यसको विपरीत, सीपीसीले आफ्नो संगठनात्मक एकता निरन्तर सुदृढ बनाउँदै आएको छ। गहिरो विश्वव्यापी उथलपुथलको समयमा राष्ट्रलाई नेतृत्व दिन पार्टी एकताबद्ध अग्रदस्ता रहनुपर्छ भन्ने उसले बुझेको छ। यस्तो शक्तिको स्रोत जनता, उनीहरूको जीवनमा आएका ठोस सुधार र भविष्यप्रतिको आशा हो।

पार्टीले वैज्ञानिक दूरदृष्टिका साथ नयाँ चुनौतीअनुसार आफूलाई अनुकूल बनाउँछ। यसले तल्लो तहका संगठनलाई प्रभावकारी बनाउने, नयाँ प्रकारका रोजगारीमा संलग्न मानिससम्म पुग्ने र डिजिटल युगमा ‘स्मार्ट पार्टी निर्माण’लाई अघि बढाउने काम गरिरहेको छ। पार्टीको डिजिटल रूपान्तरणले सामाजिक परिवर्तनसँगै अघि बढ्ने, अझ प्रभावकारी, पारदर्शी र जवाफदेही राजनीतिक प्रणाली निर्माण गर्ने सोचलाई प्रतिबिम्बित गर्छ।

सीपीसी स्थिर र अपरिवर्तित रहेन; उसले नयाँ विकासक्रम र चुनौतीअनुसार आफूलाई निरन्तर अनुकूल बनाउँदै आएको छ। यो सामाजिक प्रगतिका लागि नयाँ विकासक्रमलाई आत्मसात् गर्ने आधुनिक र गतिशील संगठन हो। हालै सीपीसीको एक थिङ्क ट्याङ्क र सिन्ह्वाले प्रकाशित गरेको ‘नयाँ युगमा सी चिनफिङको पार्टी निर्माणसम्बन्धी विचारका समकालीन विशेषता र विश्वव्यापी महत्त्व’ शीर्षकको प्रतिवेदनले यस गतिशीलतालाई उजागर गरेको छ। प्रतिवेदनले नयाँ युगका चुनौती सामना गर्न सीपीसीले मार्क्सवादी सिद्धान्त र परम्परागत संस्कृतिबाट कसरी प्रेरणा लिन्छ भन्ने कुरा प्रस्तुत गरेको छ।

म प्रायः सोच्ने गर्छु- के कुनै पश्चिमी राजनीतिक दलले आफ्नो संगठनात्मक स्वास्थ्य, वैचारिक आधार र दीर्घकालीन नवीकरण क्षमताबारे यस्तै तुलनायोग्य विश्लेषण प्रस्तुत गरेको छ? धेरै पश्चिमी दलहरू अल्पकालीन चुनावी दबाब र दीर्घकालीन शासन सञ्चालन क्षमताबीच सन्तुलन कायम गर्न निरन्तर सङ्घर्ष गरिरहेका छन्।

सीपीसीले ऐनामा आफूलाई हेर्छ र आफ्ना उपलब्धि तथा बदलिँदो परिस्थितिलाई सम्बोधन गर्ने क्षमताका आधारमा आफ्नो कार्यसम्पादनको मूल्याङ्कन गर्न खोज्छ। कमजोर सार्वजनिक छवि बनाएको र ठोस उपलब्धि दिन प्रायः सङ्घर्ष गरिरहेको राजनीतिक क्षेत्रप्रति पश्चिमी देशका धेरै युवामा निराशा देखिनु आश्चर्यजनक होइन।

विश्वको दक्षिणी गोलार्धका देशहरू तथा राजनीतिक र आर्थिक विकासका वैकल्पिक मार्ग खोजिरहेका अन्य राष्ट्रहरूका लागि सीपीसीको पार्टी निर्माण अभ्यास प्रेरणाको महत्त्वपूर्ण स्रोत हो।

बिल्जाना भान्कोभ्स्का उत्तर म्यासेडोनियाको स्कोप्जेकी राजनीतिशास्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्धकी प्राध्यापक हुन्। उनी सिनर्जिया ओर्बी: इन्स्टिच्युट फर ग्लोबल एनालाइसिस की निर्देशकसमेत हुन्।
स्रोतः चिनियाँ डेली

Facebook Comments