• २७ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षक लाइसेन्स तयारीमा स्थानीय युवालाई राहत, राजपुर–२ ले निःशुल्क कक्षा चलाउने




देउखुरी। दाङको राजपुर गाउँपालिका–२ ले शिक्षक सेवा आयोगको शिक्षक लाइसेन्स तयारी गरिरहेका स्थानीय विद्यार्थीलाई लक्षित गरी निःशुल्क शिक्षक लाइसेन्स तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार शिक्षक लाइसेन्स तयारी कक्षा निःशुल्क सञ्चालन गर्न लागेको हो। कक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

वडा कार्यालयका अनुसार राजपुर गाउँपालिका–२ को स्थायी बासिन्दा खुल्ने प्रमाणपत्र वा बसाइँसराइ गरी आएको हकमा बसाइँसराइको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र तथा +२ उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

वडा अध्यक्ष ओम प्रकाश यादवका अनुसार स्थानीय युवालाई शिक्षक लाइसेन्स तथा शिक्षक सेवा आयोगका विभिन्न परीक्षाको तयारीमा सहज पहुँच पुर्‍याउने र आर्थिक अभावका कारण तयारी कक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागिएको हो।

उनका अनुसार स्थानीय स्तरमै गुणस्तरीय तयारीको वातावरण निर्माण गर्न सके युवाहरूलाई शिक्षक सेवामा प्रवेशका लागि थप प्रोत्साहन मिल्नेछ। शिक्षक लाइसेन्स तथा शिक्षक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न आवश्यक विषयगत ज्ञान, सामान्य ज्ञान, शिक्षण विधि तथा परीक्षामुखी तयारीमा सहजीकरण गर्ने गरी कक्षा सञ्चालन गरिनेछ।

वडा कार्यालयले निःशुल्क तयारी कक्षालाई स्थानीय युवाको शैक्षिक तथा रोजगारीका अवसरसँग जोडिएको कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ। शिक्षक सेवामा प्रवेश गर्न इच्छुक योग्य स्थानीय युवाले अवसरको सदुपयोग गर्दै निर्धारित समयभित्र आवेदन दिन वडा कार्यालयले आग्रह गरेको छ।

कक्षासम्बन्धी थप जानकारीका लागि वडा अध्यक्ष ओम प्रकाश यादव र प्राविधिक चन्द्रभान यादवलाई सम्पर्क गर्न सकिने वडा कार्यालयले जनाएको छ।

Facebook Comments