• २६ आश्विन २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
तीनवर्षे कार्यकालमा सहयोग गर्ने सबैप्रति वसन्त जोशीको आभार, नयाँ कार्यसमितिलाई बधाई




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले आफ्नो तीनवर्षे कार्यकालमा सहयोग गर्ने सम्पूर्ण उद्योगी, व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले संघको निर्वाचनबाट विजयी भएका सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

संघको मिति २०८३ असोज २४ गते सम्पन्न निर्वाचनपछि धन्यवाद सन्देश जारी गर्दै जोशीले निर्वाचनलाई सफल, व्यवस्थित र मर्यादित बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका हुन्।

उनले निर्वाचनमा विजय र पराजय लोकतान्त्रिक प्रक्रियाका स्वाभाविक पक्ष भएको उल्लेख गर्दै प्रतिस्पर्धामा सहभागी सबै उम्मेदवारको योगदान, प्रतिबद्धता र व्यावसायिक एकता उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्।

अध्यक्षका रूपमा बिताएको तीनवर्षे कार्यकाललाई गौरव, जिम्मेवारी र सिकाइको महत्त्वपूर्ण अनुभवका रूपमा लिएको उल्लेख गर्दै जोशीले संस्थाको गरिमा अभिवृद्धि, व्यवसायीहरूको हकहित संरक्षण, उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधान र निजी क्षेत्र तथा राज्यका निकायबीच समन्वयका लागि आफ्नो क्षमताले भ्याएसम्म इमानदारीपूर्वक काम गरेको बताएका छन्।

आफ्नो कार्यकालमा व्यक्तिगतभन्दा संस्थागत हितलाई प्राथमिकता दिँदै व्यवसायीका समस्या र अपेक्षालाई सम्बन्धित निकायसम्म पुर्‍याउने, उद्योगी तथा व्यवसायीका पक्षमा पैरवी गर्ने र संघलाई व्यवसायीहरूको साझा संस्थाका रूपमा स्थापित गराइराख्ने प्रयास गरेको उनको भनाइ छ।

जोशीले संस्थागत विकास, स्थानीय उत्पादन तथा उद्यमशीलताको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण, बजार व्यवस्थापन र उद्योग–व्यवसायसँग सम्बन्धित नीतिगत समस्यालाई प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गरेका छन्। उपलब्धिसँगै केही अधुरा काम, चुनौती र सुधार गर्नुपर्ने विषयसमेत बाँकी रहेको स्वीकार गर्दै ती कामलाई निरन्तरता दिन आगामी दिनमा सबैको सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

उनले कार्यकाल सफल बनाउन सहयोग गर्ने संघका पदाधिकारी तथा कार्यसमिति सदस्य, पूर्वअध्यक्ष, सम्पूर्ण उद्योगी–व्यवसायी, राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधि, प्रशासनिक निकाय, स्थानीय तह, सुरक्षा निकाय, सञ्चारकर्मी, संघसंस्था, कर्मचारी र शुभेच्छुकहरूप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

नवनिर्वाचित कार्यसमितिले विगतका अनुभव र उपलब्धिलाई आत्मसात् गर्दै संस्थालाई अझ सशक्त, पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री बनाउने विश्वास व्यक्त गर्दै जोशीले साना, मझौला तथा ठूला सबै व्यवसायीका समस्या सम्बोधन गर्न नयाँ नेतृत्व सफल हुने अपेक्षा गरेका छन्।

संघ कुनै व्यक्ति वा समूह विशेषको नभई समग्र उद्योगी तथा व्यवसायीहरूको साझा संस्था भएको उल्लेख गर्दै उनले संस्थाको हित, व्यवसायीहरूको एकता र जिल्लाको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

आफ्नो कार्यकालमा सुरु भएका राम्रा कामलाई निरन्तरता दिन, अधुरा योजनालाई पूर्णता दिन र नयाँ सम्भावनाको खोजीमार्फत संघलाई थप उचाइमा पुर्‍याउन नवनिर्वाचित नेतृत्व सफल हुने विश्वास व्यक्त गर्दै जोशीले पद र जिम्मेवारी परिवर्तन भए पनि संस्थाप्रतिको माया तथा जिल्लाको आर्थिक विकासप्रतिको प्रतिबद्धता सधैँ कायम रहने बताएका छन्।

अन्त्यमा उनले तीनवर्षे कार्यकालमा साथ, सहयोग र विश्वास प्रदान गर्ने सबैप्रति पुनः धन्यवाद व्यक्त गर्दै विजयी पदाधिकारी तथा सदस्यहरूलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्। साथै, आपसी सद्भाव, एकता र सहकार्यलाई बलियो बनाउँदै दाङ जिल्ला उद्योग वाणिज्य संघलाई उद्योगी तथा व्यवसायीहरूको साझा हित र समृद्धिको बलियो आधार बनाउन सबैलाई आह्वान गरेका छन्।

Facebook Comments