• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकाका कर्मचारीको नियमित बैठक सम्पन्न




कमिरेचौर । बंगलाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा कार्यरत कर्मचारीहरुको नियमित बैठक सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिकाको सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन, आर्थिक अनुशासन तथा शाखागत कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

बैठकमा गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुख, वडा सचिव तथा स्वास्थ्य इकाइ प्रमुखहरुले आ–आफ्नो शाखा र कार्यक्षेत्रबाट भइरहेका कामकारबाहीको ब्रिफिङ तथा प्रगति विवरण र समस्याको विवरण प्रस्तुत गर्नुभएको थियो । कर्मचारीहरुले सम्पन्न भएका काम, सञ्चालनमा रहेका कार्यक्रम तथा सेवा प्रवाहका क्रममा देखिएका समस्याका विषयबारे जानकारी गराउनुभएको थियो ।

भर्खरै गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले गाउँपालिकाको प्रशासनिक कार्यलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । उहाँले नागरिकले स्थानीय सरकारबाट प्राप्त गर्ने सेवामा सहजता, छिटोछरितोपन र प्रभावकारिता कायम गर्न सबै शाखा तथा मातहतका निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले कार्यालयका नियमित कामलाई प्राथमिकताका आधारमा अघि बढाउँदै जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न तथा सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती हुन नदिन कर्मचारीलाई आग्रह गर्नुभएको थियो । उहाँले स्थानीय तहको प्रशासनिक प्रणालीलाई थप व्यवस्थित बनाउँदै कानुन, कार्यविधि र प्रचलित व्यवस्थाअनुसार काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा वरिष्ठ लेखा अधिकृत नारायण प्रसाद आचार्यले आर्थिक अनुशासन कायम गर्दै गाउँपालिकाका कामकारबाही सञ्चालन गर्नुपर्ने विषयमा धारणा राख्नुभएको थियो । उहाँले सार्वजनिक स्रोतको मितव्ययी तथा कानुनसम्मत प्रयोग, बजेटको प्रभावकारी कार्यान्वयन र वित्तीय प्रक्रिया पूरा गरेर मात्र खर्च व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको थियो । बैठकले शाखा तथा वडा तहबाट भइरहेका कामको नियमित समीक्षा, आपसी समन्वय र जिम्मेवारीअनुसार कार्यसम्पादनलाई प्राथमिकतामा राख्दै गाउँपालिकाको समग्र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने आधार तय गरेको छ ।

बैठकको सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकीले गर्नुभएको थियो ।

Facebook Comments