दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र युवा व्यवसायी प्यानलले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
अनिल आचार्य नेतृत्वको प्यानलले आज नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी ‘समृद्ध दाङ, सशक्त व्यवसायी : सबल र गतिशील उद्योग वाणिज्य संघ’ नारासहित आफ्ना एजेण्डा सार्वजनिक गरेको हो ।
प्रतिबद्धतापत्रमा संघको संस्थागत सुदृढीकरण, व्यवसायीका समस्या समाधान, औद्योगिक पूर्वाधार विकास, लगानी प्रवद्र्धन र नीतिगत पैरवीलाई प्राथमिकतामा राखिएको छ ।
प्यानलले व्यवसायीका समस्या तत्काल सम्बोधन गर्न हेल्पडेस्क स्थापना, दाङमा औद्योगिक क्षेत्रको पहल, टरिगाउँ विमानस्थलको नियमित सञ्चालन तथा स्तरोन्नति, बैंक तथा वित्तीय समस्यामा सहजीकरण र कृषि तथा जडीबुटीमा आधारित उद्योग प्रवद्र्धन गर्ने जनाएको छ ।
त्यस्तै, साना व्यवसायीको संरक्षण, युवा तथा महिला उद्यमीलाई प्रोत्साहन, डिजिटल प्रविधिको प्रयोग बढाउने तथा बजार र पूर्वाधार विकासका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।
असोज २४ गते हुने निर्वाचनमा प्यानलले आफ्नो पक्षमा मतदान गर्न उद्योगी तथा व्यवसायीलाई अपिल गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
