दाङ । लुम्बिनी प्रदेशकाे स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि उक्त घोषणापत्र जारी गरिएको हो । समिक्षा कार्यक्रमकाे उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा थप सुधारकाे आवश्यकता रहेकाे र साेही अनुसार कार्यसम्पादनलाई प्रभावकारी बनाउनेगरी अघि बढ्न निर्देशन दिएका थिए ।
घोषणापत्रमार्फत प्रदेश सरकारले सबै नागरिकका लागि स्वस्थ जीवन, गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम तथा दिगो स्वास्थ्य प्रणाली निर्माणका लागि घोषित प्रतिबद्धता कार्यान्वयन गर्ने साझा संकल्प व्यक्त गरेको छ ।
घोषणापत्रमा आयुर्वेद औषधि उत्पादनदेखि अस्पतालको सेवा गुणस्तर सुधार, विद्युतीय स्वास्थ्य अभिलेख, सुरक्षित मातृत्व, पोषण, नसर्ने रोगको रोकथाम र बेरुजु न्यूनीकरणसम्मका विषय समेटिएका छन् ।
प्रदेशमा पाइने स्थानीय जडीबुटीको संरक्षण, संवर्द्धन र दिगो उपयोग गर्दै आयुर्वेद औषधि उत्पादन केन्द्र स्थापना तथा सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ । आयुर्वेदिक औषधि उत्पादन बढाएर औषधिको क्षेत्रमा आत्मनिर्भर बन्न जोड दिने घोषणा गरिएको छ ।
त्यस्तै, कपिलवस्तु, बाँके र बर्दियालाई आरोग्य तथा स्वास्थ्य पर्यटनका प्रमुख गन्तव्यका रुपमा विकास गरिने भएको छ । कपिलवस्तु आयुर्वेद चिकित्सालयलाई वृहत् लुम्बिनी धार्मिक क्षेत्रको महत्व झल्किने गरी पञ्चकर्म, योग, ध्यान तथा पुनर्स्थापना सेवासहितको विशिष्टीकृत केन्द्रका रुपमा विकास गर्ने घोषणा गरिएको छ ।
प्रदेश सरकार मातहतका अस्पतालमा रहेका जैविक-चिकित्सकीय उपकरणको उच्चतम उपयोगका लागि उपकरणको परीक्षण तथा लेखापरीक्षण गरिने भएको छ । प्रदेशमा रहेको जैविक-चिकित्सकीय उपकरण मर्मत केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने पनि घोषणा गरिएको छ ।
अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न चिकित्सकीय सेवाको परीक्षण तथा मूल्याङ्कनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा विस्तार गरिने भएको छ । यसबाट अस्पतालमा उपलब्ध सेवाको गुणस्तर, प्रभावकारिता र बिरामीको उपचार प्रक्रियामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा विद्युतीय प्रणालीको विस्तारलाई पनि प्राथमिकता दिइएको छ । प्रदेशको डिजिटल स्वास्थ्य मार्गचित्र तयार गरी प्रदेश मातहतका अस्पताल तथा आयुर्वेद चिकित्सालयमा पूर्णरुपमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली स्थापना गर्ने घोषणा गरिएको छ ।
स्थानीय तहका स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना प्रणालीलाई निरन्तरता दिँदै थप विस्तार गरिने भएको छ ।
सुरक्षित मातृत्व तथा बाल स्वास्थ्य सुधारका लागि ‘सुरक्षित मातृत्व अभियान’ प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । परिवार स्वास्थ्य परिचयपत्र कार्यक्रमलाई स्थानीय तहसँगको समन्वय र सहकार्यमा रुपन्देही जिल्लाका पाँच स्थानीय तह तथा प्युठान जिल्लामा विस्तार गरिने भएको छ ।
स्वास्थ्य प्रणालीमा उपलब्ध विभिन्न तथ्य तथा तथ्याङ्कलाई एकीकृत गरी प्राथमिक स्वास्थ्य सेवा सम्बन्धी विद्युतीय सूचना पटल विकास गरिने भएको छ । तथ्यमा आधारित नीति, योजना, बजेट तथा निर्णय प्रक्रियालाई संस्थागत गर्ने घोषणा गरिएको छ ।
नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याको बढ्दो भार न्यूनीकरण गर्न स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम तथा उपचार व्यवस्थापनलाई सुदृढ बनाइने भएको छ । स्थानीय तथा प्रदेश तहका स्वास्थ्य संस्थाबाट गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, जाँच, निदान, उपचार तथा पुनःजाँच सेवाको सुनिश्चितता गर्ने घोषणा गरिएको छ ।
स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयमा सुर्तीजन्य पदार्थ तथा अस्वस्थकर खानपानलाई निषेध गर्ने र स्थानीय जडीबुटीबाट तयार हुने चियालाई प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।
बालबालिका तथा महिलामा देखिएको कुपोषण न्यूनीकरण तथा रोकथामका लागि बहुक्षेत्रीय समन्वय र साझेदारीलाई संस्थागत गरिने भएको छ । जीवनचक्रमा आधारित पोषण प्रवर्द्धन, स्थानीय खाद्य संस्कृतिको संरक्षण तथा व्यवहार परिवर्तनमा आधारित बृहत् पोषण अभियान सञ्चालन गरिने घोषणा गरिएको छ ।
स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा रहेको बेरुजु न्यूनीकरणलाई समेत प्राथमिकतामा राखिएको छ । असुल गर्नुपर्ने र पेश्की बेरुजुलाई शून्यमा झार्ने तथा नियमित गर्नुपर्ने बेरुजुलाई ५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ ।
तीन तहका स्वास्थ्य संस्थाबीच हुने बिरामी प्रेषणलाई व्यवस्थित बनाउन जवाफदेही र प्रभावकारी प्रेषण प्रणाली सञ्चालन गर्ने घोषणा गरिएको छ । प्रदेश अस्पताल विकास समितिको आर्थिक कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि गरिएको छ ।
प्रदेशका विभिन्न समुदायमा रहेका थालसेमिया, सिकलसेल तथा हेमोफिलियाका वाहक र बिरामीको प्रभावकारी अभिलेखीकरणका लागि जैविक पहिचानसहितको विद्युतीय अभिलेख प्रणाली स्थापना गरिने भएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
