• १९ आश्विन २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘सुरक्षित व्यापार, वर्तमानमा सम्मान, भविष्यमा परिणाम’ : प्रजातान्त्रिक प्यानलको प्रतिबद्धता




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै प्रजातान्त्रिक उद्यमी संघ व्यवसायी प्यानलले व्यवसायीको हकहितसँगै जिल्लाको आर्थिक तथा औद्योगिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ।

प्यानलले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको हो।
‘सुरक्षित व्यापार, वर्तमानमा सम्मान, भविष्यमा परिणाम’ भन्ने नारासहित प्यानलले व्यवसायीका समस्या समाधान, लगानीको वातावरण निर्माण तथा जिल्लाको समग्र आर्थिक विकासका लागि विभिन्न योजना अघि सारेको जनाएको छ।

प्यानलले सहुलियत ब्याजदरमा बिना धितो ऋण प्राप्त गर्न सहजीकरण गर्ने, कृषि तथा पर्यटनजस्ता आन्तरिक स्रोतमा आधारित उद्योगको बजारीकरण र प्रवर्द्धनका लागि पहल गर्ने तथा संघका लागि दीर्घकालीन स्रोतको पहिचान गरी संस्थालाई आर्थिक रूपमा सबल बनाउने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, दाङमा नापतौल कार्यालय स्थापना गर्न पहल गर्ने, व्यवसायिक सुरक्षाका लागि मुख्य स्थानमा सीसीटीभी क्यामेरा जडान गर्ने, रात्रीकालीन व्यवसायलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाउने तथा संघको सचिवालयलाई आधुनिकीकरण गर्दै कर्मचारीको क्षमता अभिवृद्धि गर्ने योजना प्यानलले अघि सारेको छ।

प्यानलले करदाता व्यवसायीलाई प्रोत्साहित गर्ने नीति निर्माणका लागि पहल गर्ने तथा संघ, प्रदेश र स्थानीय सरकारले लिने कर प्रणालीलाई एकरूप बनाउँदै कर भुक्तानीमा सहजता ल्याउने प्रतिबद्धता पनि जनाएको छ।
कृषि क्षेत्रको विकासका लागि कृषि उत्पादनको बजारीकरण, कृषि उद्योगमा राज्यबाट उपलब्ध हुने अनुदान तथा कर छुटको व्यवस्था प्रभावकारी बनाउन पहल गर्ने र उत्पादित वस्तुको सहज बिक्री–वितरणका लागि आवश्यक वातावरण निर्माण गर्ने प्यानलले जनाएको छ।

यसैगरी, घोराहीमा स्थापना भएको औद्योगिक क्षेत्रलाई तत्काल सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता प्यानलले सार्वजनिक गरेको छ।

पर्यटन क्षेत्रको विकासका लागि होटल, केबलकार, जिपलाइनलगायत पर्यटनसम्बन्धी क्षेत्रमा लगानी गर्ने व्यवसायीलाई प्रोत्साहन गर्ने, पर्यटन क्षेत्र तथा व्यापारिक सडकको स्तरोन्नति गर्ने र जिल्लाका विभिन्न सडक निर्माण तथा स्तरोन्नतिका लागि सम्बन्धित निकायसँग पहल तथा दबाब सिर्जना गर्ने योजना पनि प्यानलले अघि सारेको छ।

उद्योगी तथा व्यवसायीलाई नियमित र व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न सहज वातावरण निर्माण गर्ने, आधुनिक कर प्रणालीसम्बन्धी प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्ने र स्थानीय विकाससँगै व्यवसायिक उन्नति तथा उच्चस्तरीय व्यवसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ।

प्यानलले उद्यमशीलता र व्यवसायिक स्वतन्त्रताको संरक्षण गर्दै समान व्यवसायिक अवसर सिर्जना गर्ने, कृषि उद्योग स्थापना तथा कृषि उपजको बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने र घरभाडासम्बन्धी समस्या समाधानका लागि घरधनी तथा व्यवसायीबीच समन्वय कायम गर्ने जनाएको छ।

त्यस्तै, फुटपाथ तथा ठेला व्यवसायलाई व्यवस्थित गर्ने, दाङको पर्यावरण संरक्षणसँगै कृषि उद्योगको विकास गर्ने तथा जिल्लालाई फलफूल र जडीबुटी उद्योगको विकास क्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता प्यानलले जनाएको छ।

साविक राप्ती अञ्चलका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्ने, व्यवस्थित सहरीकरणका लागि पहल गर्ने तथा साविक राप्ती अञ्चलको मुख्य कोइलाबास नाकालाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग पहल गर्ने योजना पनि प्यानलले सार्वजनिक गरेको छ।

बहुउद्देश्यीय सभागृहलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्ने तथा साना, मझौला र ठूला व्यवसायीको हितलाई ध्यानमा राख्दै विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि प्यानलले जनाएको छ।

पत्रकार सम्मेलनमा प्यानलका तर्फबाट सार्वजनिक गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि व्यवसायीको साथ र सहयोग आवश्यक रहेको चुनाव प्रचारप्रसार समितिका संयोजक तेज बहादुर पौडेल (विश्व) ले बताए । संयोजक पौडेलले प्रतिबद्धता कार्यान्वयनका लागि व्यवसायीको अमूल्य मत आवश्यक रहेको भन्दै निर्वाचनमा आफ्ना उम्मेदवारलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिलसमेत गरेको छन।

Facebook Comments