घोराही, १८ असोज । कवि पुरन शर्माको जनयुद्धकालीन कवितासङ्ग्रह ‘बारुदी यामका कविता’ विमोचन गरिएको छ।
प्रगतिशील लेखक संघ दाङ र सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा शनिबार घोराहीमा आयोजित कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डा. अमर गिरीले कृति विमोचन गर्नुभएको हो।
कार्यक्रममा प्रमुख अतिथि डा. गिरीले जनयुद्ध नेपाली राजनीतिको ऐतिहासिक परिघटना भएको बताउँदै त्यसकै जगमा गणतन्त्र स्थापना सम्भव भएको उल्लेख गर्नुभयो। नेपालमा ठूला राजनीतिक दलहरूको कमजोरीका कारण लोकप्रियतावादको उदय भएको भन्दै उहाँले दलहरूले अझै पनि आत्मसमीक्षा र सुधारको प्रयास नगर्नु दुःखद भएको बताउनुभयो।

उहाँले ‘बारुदी यामका कविता’ले नेपालको वामपन्थी आन्दोलनमा आएको विभाजनप्रति चिन्ता व्यक्त गरेको टिप्पणी गर्नुभयो। साहित्यको यात्रा आत्मसंघर्षको यात्रा भएको उल्लेख गर्दै उहाँले कुनै पनि रचनाले पाठकलाई प्रभावित पार्न सक्नुपर्ने बताउनुभयो।
समीक्षक डा. टीकाराम उदासीले कविता साहित्यको उच्च कलात्मक विधा भएको बताउँदै सङ्ग्रहले जनयुद्धकालीन काव्यिक चेतना बोकेको उल्लेख गर्नुभयो। सङ्ग्रह सामाजिक न्यायको उद्घोषका रूपमा आएको बताउँदै उहाँले आगामी दिनमा अझ कलात्मक अभिव्यक्तिलाई तीव्र बनाउँदै अघि बढ्न कवि शर्मालाई शुभकामना दिनुभयो। उहाँले शर्माका कविताहरू सरल र बोधगम्य रहेको बताउनुभयो।

जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीले ‘बारुदी यामका कविता’लाई युगको आवाजका रूपमा चित्रण गर्नुभयो। बारुदी यामलाई क्रान्ति र आतङ्कका रूपमा हेर्ने विभिन्न पक्ष अहिले एउटै साहित्यिक यात्रामा रहेकाले नयाँ दृष्टिकोणका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
कवि पुरन शर्माले आफूले देखेभोगेका विषयलाई कवितामा उतारेको बताउँदै सहिदहरूको समर्पण आफ्नो लेखनको स्रोत रहेको उल्लेख गर्नुभयो। ‘बारुदी यामका कविता’ आफ्नो मात्र नभई वर्गसंघर्षको इतिहाससमेत भएको उहाँले बताउनुभयो।

सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कवि शर्माका बुवा एवं साहित्यकार रामप्रसाद जैसी, राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, अध्यक्ष कमलमणि देवकोटा, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष चन्द्रबहादुर थापा, बीएन पुस्तक संसार प्रालिका कार्यकारी निर्देशक तथा अध्ययन मञ्चका अध्यक्ष सूर्य बिसी र लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन पुस्तकालयका सचिव सुशीला आचार्यले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
