• १८ आश्विन २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संस्थाको हितलाई प्राथमिकता दिँदै निर्वाचनमा होमिएको छु : माधव खनाल




दाङ ।  दाङ जिल्ला उद्योग वाणिज्य संघको महासचिव पदका उम्मेदवार माधव खनालले संस्थाको हितलाई प्राथमिकतामा राख्दै असोज २४ गते हुने निर्वाचनमा सहभागी भएको बताउनुभएको छ।

निर्वाचनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्दै खनालले चाडपर्वको नजिक निर्वाचन गर्न उपयुक्त नहुने भन्दै सुरुदेखि नै मिति सार्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पार्नुभएको छ। चाडपर्वको समयमा उद्योगी–व्यवसायीहरू अत्यन्त व्यस्त हुने भएकाले निर्वाचन पछाडि सार्नुपर्ने आफ्नो व्यक्तिगत तथा संस्थागत धारणा रहेको उहाँले बताउनुभयो।

तर, वर्तमान कार्यसमितिको कार्यकाल असोज २८ गते समाप्त हुने र त्यसपछि कानुनी तथा संस्थागत रूपमा अघि बढ्न कठिन हुने अवस्था तथा अदालतबाट निर्वाचनको बाटो खुला भएको विषयमा कानुनी विज्ञ, पूर्वअध्यक्ष र कार्यसमितिका सदस्यहरूबाट प्राप्त सुझावपछि घोषित मितिमै निर्वाचनमा सहभागी हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ।

आफ्नो सहकारी संस्थाको साधारणसभा तथा पूर्वतयारीका कारण निर्वाचनको मिति निर्धारणसम्बन्धी बैठकबाट बाहिरिएको उल्लेख गर्दै खनालले व्यक्तिगत असहमतिभन्दा संस्थाको आवश्यकतालाई प्राथमिकता दिएर निर्वाचनको मैदानमा आएको बताउनुभएको छ।

उहाँले महासचिव पदमा निर्वाचित भए दाङ जिल्ला उद्योग वाणिज्य संघलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र सबै उद्योगी–व्यवसायीको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संस्थाका महत्वपूर्ण निर्णय गर्दा कुनै व्यक्ति विशेषको चाहनाभन्दा उद्योगी–व्यवसायी, वस्तुगत समिति, अग्रज तथा सरोकारवालाको सुझाव र आवश्यकतालाई प्राथमिकता दिने उहाँको भनाइ छ।

निर्वाचनमा आर्थिक चलखेलभन्दा विश्वास, योगदान, विचार, व्यवहार र कामका आधारमा नेतृत्व चयन हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै खनालले संस्थाको आर्थिक अनुशासन, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ।

महत्वपूर्ण विषयमा एकल निर्णय नगरी सम्बन्धित सबै पक्षसँग छलफल र परामर्श गरेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै उहाँले आफ्नो नेतृत्व शैलीबारे आफू आबद्ध सहकारी, विद्यालय तथा अन्य संघ–संस्थाका सदस्य र सरोकारवालासँग बुझ्न सकिने उल्लेख गर्नुभएको छ।

व्यक्तिगत इच्छा र पद प्राप्तिभन्दा संस्थाको हितलाई प्राथमिकता दिएको बताउँदै खनालले निर्वाचनमा आफ्नो पक्षमा अमूल्य मत, साथ, सहयोग र सुझाव प्रदान गर्न उद्योगी–व्यवसायीहरूसँग अपिल गर्नुभएको छ।

Facebook Comments