• १६ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सञ्जीवनी शिक्षण अस्पतालमा हिमालयन बैंकको एटिएम सेवा सञ्चालन




दाङ । घोराही उपमहानगरपालिका–३ वर्गदुवा भानपुरस्थित सञ्जीवनी शिक्षण अस्पतालमा हिमालयन बैंक लिमिटेडले एटिएम सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालमा आउने बिरामी, सेवाग्राही तथा आसपासका नागरिकलाई नगद कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले अस्पताल परिसरमै एटिएम सेवा सुरु गरेको हो।हिमालयन बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एटिएम सेवाको औपचारिक शुभारम्भ गरेको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोका, हिमालयन बैंकका शाखा प्रबन्धक केशवराज तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनलगायत अस्पतालका पदाधिकारी, चिकित्सक तथा कर्मचारीहरूको उपस्थितिमा एटिएम सेवाको शुभारम्भ गरिएको थियो।
कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले अस्पतालमा आउने सेवाग्राहीलाई आवश्यक पर्दा सहज रूपमा नगद निकाल्न सकून् भन्ने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले अस्पतालमा उपचार तथा अन्य सेवाका लागि आउने बिरामी र आफन्तलाई बैंकिङ सेवाका लागि बजारसम्म पुग्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो।

हिमालयन बैंकका शाखा प्रबन्धक केशवराज तिवारीले बैंकिङ सेवाको पहुँच विस्तार गर्ने क्रममा अस्पताल परिसरमा एटिएम सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीसँगै आसपासका नागरिकलाई समेत एटिएम सेवाबाट लाभ पुग्ने अपेक्षा गरिएको उल्लेख गर्नुभयो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले स्थानीय क्षेत्रमा आवश्यक सेवाको विस्तारले नागरिकको दैनिक जीवन सहज बनाउने बताउनुभयो। उहाँले अस्पतालजस्तो संवेदनशील स्थानमा एटिएम सेवा सुरु हुनु सेवाग्राहीका लागि उपयोगी सुविधा भएको उल्लेख गर्दै बैंक तथा अस्पतालबीचको सहकार्यले अन्य आवश्यक सेवाको विस्तारमा समेत सहयोग पुग्ने धारणा राख्नुभयो।
अस्पताल प्रशासनका अनुसार घोराही बजार क्षेत्रबाट पूर्वतर्फ वडा नम्बर ३, २ र १ हुँदै आवतजावत गर्ने नागरिक, राजमार्गमा यात्रा गर्ने यात्रु तथा सञ्जीवनी शिक्षण अस्पतालमा उपचारका लागि आउने हजारौँ बिरामी र उनीहरूका आफन्तले अब अस्पताल परिसरबाटै एटिएम सेवा लिन सक्नेछन्।

विशेषगरी आकस्मिक उपचारका लागि अस्पताल आउने बिरामीका आफन्तलाई तत्काल नगद आवश्यक पर्न सक्ने भएकाले अस्पतालमै एटिएम सेवा उपलब्ध हुनु महत्वपूर्ण सुविधा हुने अस्पताल प्रशासनको भनाइ छ। यसअघि नजिकैको बैंक तथा एटिएम खोज्दै बजार क्षेत्रसम्म जानुपर्ने अवस्था रहेको थियो।

कार्यक्रममा अस्पतालका चिकित्सक तथा पदाधिकारीहरूले अस्पताल परिसरमा एटिएम सेवा सुरु भएपछि सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने बताएका थिए। उनीहरूले स्वास्थ्य सेवासँगै आवश्यक आधारभूत सुविधाको विस्तारले अस्पतालप्रतिको सेवाग्राहीको अनुभवलाई थप सहज बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख सुशील रिजालले गर्नुभएको थियो। एटिएम सेवा सञ्चालनसँगै सञ्जीवनी शिक्षण अस्पताल क्षेत्रमा बैंकिङ सेवाको पहुँच विस्तार भएको छ।

Facebook Comments