• १७ आश्विन २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ज्येष्ठ नागरिक दिवसमा गुरुकुलका नानीबाबुहरूको सामाजिक पाठ : निलसागर आश्रममा खाद्यान्न सहयोग




घोराही  । गुरुकुल एकेडेमी लमहीका मन्टेस्वरी तहमा अध्ययनरत विद्यार्थीहरूले ज्येष्ठ नागरिक दिवसको अवसर पारेर सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेका छन्। विद्यालयका नानीहरूले राप्ती गाउँपालिका–८ मा रहेको निलसागर सेवा आश्रममा पुगेर त्यहाँ आश्रित ज्येष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरेका हुन्।
किताबी ज्ञानसँगै विद्यार्थीलाई मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सेवाभाव सिकाउने उद्देश्यले खाद्यान्न सहयोग गरिएको विद्यालयले जनाएको छ। ज्येष्ठ नागरिक दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी विद्यार्थीलाई ज्येष्ठ नागरिकप्रतिको सम्मान, माया र जिम्मेवारीको व्यवहारिक अनुभूति गराउने प्रयास गरिएको हो।

विद्यालयका प्रधानाध्यापक विवेक देवकोटाका अनुसार गुरुकुल एकेडेमीले आफ्नो मूल मन्त्र समाजसँग गुरुकुललाई व्यवहारमै कार्यान्वयन गर्दै आएको छ। विद्यार्थीहरूलाई कक्षाकोठामा पाठ्यपुस्तक पढाउने मात्र नभई समाज, समुदाय र वास्तविक जीवनसँग जोडेर सिकाउने उद्देश्यअनुसार आश्रममा सहयोग गरिएको उहाँले बताउनुभयो। “विद्यार्थीलाई किताबमा मात्र सीमित ज्ञानभन्दा समाज र मानव जीवनसँग जोडिएको व्यवहारिक शिक्षा दिन आवश्यक छ। ज्येष्ठ नागरिकको सम्मान र सेवा पनि शिक्षाकै एउटा महत्वपूर्ण पक्ष हो,” प्रधानाध्यापक देवकोटाले भन्नुभयो। निलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि आवश्यक खाद्यान्न सामग्री विद्यार्थीहरूले आफ्नै हातबाट हस्तान्तरण गरेका थिए। आश्रममा पुग्दा विद्यार्थीहरूले ज्येष्ठ नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उहाँहरूको अवस्था र अनुभवसमेत बुझ्ने अवसर पाएका थिए।

सानै उमेरदेखि सेवा, सहयोग, सम्मान र सहानुभूतिको संस्कार विकास गराउने उद्देश्यले गरिएको यस्तो गतिविधिले विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ। गुरुकुल एकेडेमी लमहीले नियमित शिक्षण–सिकाइसँगै व्यवहारिक शिक्षा, सामाजिक सेवा तथा अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयभित्रको कक्षाकोठा मात्र पर्याप्त नहुने भएकाले उनीहरूलाई समाज र समुदायसँग जोड्ने विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्। ज्येष्ठ नागरिक दिवसको अवसरमा गरिएको यो सहयोगले विद्यार्थीलाई ‘दिने संस्कार’ र ‘सम्मान गर्ने संस्कृति’ सिकाउनुका साथै आश्रममा रहेका ज्येष्ठ नागरिकमा समेत आत्मीयताको अनुभूति गराएको छ।

बालबालिकाको हातबाट गरिएको सानो सहयोगले आश्रमका ज्येष्ठ नागरिकका लागि ठूलो खुसी ल्याएको विद्यालयको भनाइ छ। विद्यालयले यस्ता सामाजिक तथा सेवामूलक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। यसरी गुरुकुलका नानीहरूले ज्येष्ठ नागरिक दिवसलाई केवल दिवस मनाउने अवसरका रूपमा नभई सेवा, सम्मान र मानवीयताको पाठ सिक्ने अवसरका रूपमा उपयोग गरेका छन्। कक्षाकोठामा पढेको ‘समाजप्रतिको दायित्व’लाई व्यवहारमा उतार्दै गरिएको यो पहलले समाजसँग गुरुकुल भन्ने विद्यालयको मूल मन्त्रलाई थप सार्थक बनाएको छ।

Facebook Comments