दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज ११ गते हुने भनिएको निर्वाचन स्थगित भएको विषयमा संघका अध्यक्ष वसन्त जोशीले निर्वाचन प्रक्रिया सुरु भएदेखि उत्पन्न भएका विवाद र त्यसपछिका घटनाक्रमबारे स्पष्ट पारेका छन्।
अध्यक्ष जोशीका अनुसार निर्वाचन समिति गठनदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, निर्वाचन समिति सदस्यको राजीनामा, नयाँ निर्वाचन समिति गठन हुँदै जिल्ला प्रशासन कार्यालय र उच्च अदालत तुलसीपुरबाट आएका पत्रका कारण निर्वाचन स्थगित भएको हो।
उनका अनुसार भदौ २५ गते निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिको संयोजकमा रेवतरमण तथा सदस्यमा भूपबहादुर केसी र ठाकुरप्रसाद गिरी रहेका थिए। असोज २ गते उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएकोमा उम्मेदवार दर्ताका क्रममा ‘वाणिज्य सदस्य’ र ‘खुला सदस्य’ गरी दुई छुट्टाछुट्टै शीर्षकमा उम्मेदवारी दर्ता भएपछि त्यस विषयमा दाबी विरोध परेको जोशीले बताए।
दाबी विरोधपछि छलफल र सहमतिमार्फत विवाद समाधान गर्ने प्रयास भए पनि सहमति हुन नसकेको उनको भनाइ छ। असोज ५ गते निर्वाचन समितिका संयोजकले निर्वाचन प्रक्रिया अगाडि बढाउन असहज परिस्थिति सिर्जना भएको भन्दै राजीनामा दिएको जोशीले बताए।
निर्वाचन समिति राजीनामा दिएपछि संघको निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा पूर्वअध्यक्ष तथा सल्लाहकारहरूसँग छलफल गरिएको उनले बताए। त्यसक्रममा पुरानै प्रक्रियालाई निरन्तरता दिँदै सहमति र सहकार्यका आधारमा निर्वाचन सम्पन्न गर्ने निर्णयअनुसार नयाँ निर्वाचन समिति गठन गरिएको जोशीको भनाइ छ।
नयाँ निर्वाचन समितिसँग सम्बन्धित विषयमा वाणिज्य तथा खुला सदस्यतर्फका १७ जना सदस्य रहेको र तीमध्ये १६ जनाले सहमति जनाए पनि एक जना असहमत रहेको उनले बताए।
यसैबीच जिल्ला प्रशासन कार्यालय दाङबाट समेत निर्वाचन प्रक्रियाका विषयमा पत्र प्राप्त भएको अध्यक्ष जोशीले जानकारी दिए। जिल्ला प्रशासनको पत्रमा संघको विधान तथा प्रचलित कानुनी व्यवस्थाको पालना गरी निर्वाचन सम्पन्न गर्न अनुरोध गरिएको उनले बताए।
जिल्ला प्रशासनको पत्र प्राप्त भएपछि आफूले निर्वाचन प्रक्रिया तत्काल स्थगित गरी कार्यसमितिको बैठकमार्फत विवाद समाधान गर्न निर्वाचन समितिलाई पत्र पठाएको जोशीले बताए।
तर, त्यसपछि सल्लाहकार समितिको बैठकबाट निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय भएको भन्दै उनले त्यसप्रति आफूले अध्यक्षको हैसियतले गम्भीर आपत्ति जनाएको बताए।
‘जिल्ला प्रशासनको पत्र आइसकेपछि विधानसम्मत रूपमा अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो। कार्यसमितिको बैठकबाट विवाद समाधान गरौँ भनेर मैले पत्र दिएको थिएँ,’ जोशीले भने, ‘तर त्यो पत्रको पालना नगरी निर्वाचन प्रक्रिया अगाडि बढाइयो।’
यसैबीच निर्वाचनसम्बन्धी विवाद उच्च अदालत तुलसीपुरसम्म पुगेपछि अदालतबाट आएको आदेशका कारण असोज ११ गते हुने भनिएको निर्वाचन स्थगित भएको उनले बताए।
जोशीका अनुसार अदालतमा परेको निवेदनमा खिमबहादुर डाँगी निवेदक रहेका छन् भने निर्वाचन समिति तथा वाणिज्य सदस्यतर्फका व्यक्तिहरूलाई विपक्षी बनाइएको छ। निर्वाचन समिति विधानसम्मत नभएको तथा वाणिज्य सदस्यसम्बन्धी विषय मुख्य विवादका रूपमा अदालत पुगेको उनको भनाइ छ।
‘यो संघको सम्पूर्ण व्यवसायीबीचको विवाद होइन, उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरू र निर्वाचन समितिबीचको विवाद हो,’ जोशीले स्पष्ट पारे।
अब उच्च अदालतको आदेशअनुसार मात्रै निर्वाचन प्रक्रिया अगाडि बढ्ने उनले बताए। अदालतको आदेश नआएसम्म कार्यसमितिले समेत एकतर्फी रूपमा निर्वाचनको नयाँ मिति वा प्रक्रिया तय गर्न नसक्ने उनको भनाइ छ।
व्यवसायीहरूलाई निर्वाचन स्थगित हुनुको वास्तविक कारणबारे जानकारी गराउन आफूले पत्रकार सम्मेलनमार्फत घटनाक्रम सार्वजनिक गरेको अध्यक्ष जोशीले बताए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
