• ७ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
किसान मल उपभोक्ता कार्ड लागू गर्न घोराही बनाऔँ अभियानको माग




घोराही । मलका लागि किसानले घण्टौँ तथा दिनौँसम्म लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक, डिजिटल र पारदर्शी वितरण प्रणाली लागू गर्न माग गर्दै घोराही बनाऔँ अभियानले जिल्ला प्रशासन कार्यालय दाङमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। अभियानका संयोजक सविन प्रियासन चौधरीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझाउने टोलीमा नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा, दाङ शाखा सचिव जेएन सागर तथा अभियानका सहसंयोजक बिनोद केसीलगायत सहभागी थिए।

अभियानले वास्तविक किसानको पहिचान गरी ‘किसान मल उपभोक्ता कार्ड’ लागू गर्नुपर्ने माग गरेको छ। कार्डमा किसानको विवरण, खेतीयोग्य क्षेत्रफल, बाली र मलको कोटालगायतका जानकारी डिजिटल रूपमा अभिलेख राख्न प्रस्ताव गरिएको छ।

त्यसैगरी, खेतीको क्षेत्रफल र बालीका आधारमा मलको कोटा निर्धारण, क्यूआर कोडमार्फत खरिद अभिलेख, मोबाइलमा मल उपलब्धताको सूचना, आपूर्ति तथा वितरण विवरण सार्वजनिक र राष्ट्रिय गुनासो सुनुवाइ प्रणाली स्थापना गर्न माग गरिएको छ।

घोराही उपमहानगरपालिकाबाट नमुना परियोजनाका रूपमा किसान मल उपभोक्ता कार्ड प्रणाली सुरु गरी सफल परीक्षणपछि देशभर विस्तार गर्नुपर्ने अभियानको प्रस्ताव छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले अभियानले उठाएका विषयलाई सम्बन्धित निकायसम्म पुर्‍याउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, घोराही उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारलाई समेत बोधार्थ पठाइएको छ।

Facebook Comments