• ६ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गोरक्ष रत्ननाथ माविमा ‘डोनेसन बक्स’ अभियान




घोराही, दाङ । जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक सेवासँग जोड्दै गोरक्ष रत्ननाथ माध्यमिक विद्यालय, घोराही–१७ चौघेराले सञ्चालन गरेको ‘Donation Box’ अभियान उदाहरणीय बन्दै गएको छ।

विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले जन्मदिनका अवसरमा खाजा तथा अन्य खर्चबाट केही रकम कटाएर विद्यालयमा राखिएको ‘Donation Box’ मा स्वेच्छिक रूपमा सहयोग गर्दै आएका छन्। यसरी एकैपटक ठूलो रकम नभई वर्षभरि विभिन्न विद्यार्थी तथा शिक्षकहरूले जन्मदिनका अवसरमा क्रमशः जम्मा गरेको सानो–सानो सहयोग एक वर्षपछि उल्लेखनीय रकममा परिणत भएको हो।

एक वर्षको अवधिमा डोनेसन बक्समा संकलित सोही रकमबाट आर्थिक अवस्था कमजोर भएका २३ जना विद्यार्थीलाई विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको प्रधानाध्यापक सेमलाल मल्लले जानकारी दिनुभयो।

जन्मदिनमा हुने सामान्य खाजा खर्चलाई केही कटौती गरी त्यसको हिस्सा आवश्यकतामा रहेका साथीहरूको शिक्षामा लगानी गर्ने अभ्यासले विद्यालयमा सहयोग, सहकार्य, सहानुभूति र सामाजिक उत्तरदायित्वको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहायक प्रधानाध्यापक सुमन पौडेलले बताउनुभयो।

रकमको मात्रा सानो भए पनि धेरै जनाको निरन्तर सहभागिताबाट वर्षभरि जम्मा भएको सहयोगले विद्यार्थीको विद्यालय पोसाक र शैक्षिक सामग्रीको आवश्यकता पूरा गर्न सक्नु अभियानको सकारात्मक उपलब्धि भएको विद्यालयको भनाइ छ।

‘आफ्नो जन्मदिनको खुसी, साथीको शिक्षामा सहयोग’ भन्ने भावनाका साथ अघि बढाइएको यस अभियानले जन्मदिन मनाउने संस्कृतिलाई समेत सामाजिक उत्तरदायित्वसँग जोडेको छ। विद्यालयले आगामी दिनमा पनि ‘Donation Box’ अभियानलाई निरन्तरता दिँदै आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका विद्यार्थीलाई सहयोग गर्ने जनाएको छ।

Facebook Comments