दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि नरेश कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्। संघको नेतृत्वका लागि श्रेष्ठलाई बलिया उम्मेदवारका रूपमा हेरिएको छ।
व्यवसायीका हकहित, उद्योग–व्यवसायको विकास तथा संघलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित श्रेष्ठ चुनावी मैदानमा उत्रिएका हुन्। दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि नरेश कुमार श्रेष्ठले उम्मेदवारी दिएसँगै संघको नेतृत्व चयनको चर्चा थप चुलिएको छ। यसअघि संघको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएर जिम्मेवारी सम्हालिसकेका श्रेष्ठ यसपटक अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका हुन्।
व्यवसायिक क्षेत्रसँगै सामाजिक गतिविधिमा समेत सक्रिय श्रेष्ठले आफूले विगतमा संघमा रहेर गरेका काम र व्यवसायीका समस्याका विषयमा उठाएको आवाजलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा अघि सारेका छन्। व्यवसायीका हकहित, उद्योग–व्यवसायको संरक्षण तथा घोराहीलाई व्यावसायिक केन्द्रका रूपमा विकास गर्ने विषयलाई उनले प्राथमिकतामा राख्दै आएका छन्।
श्रेष्ठको व्यवसायिक यात्रा पनि लामो छ। वि.सं. २०७१ सालमा घोराहीमा कोशेली बेकरी सञ्चालन गरेर व्यवसायिक क्षेत्रमा प्रवेश गरेका उनले त्यसलाई विस्तार गर्दै जिल्लाका विभिन्न स्थानमा शाखा सञ्चालन गरेका छन्। व्यवसाय सञ्चालनसँगै व्यवसायीका साझा समस्या र उद्योग–व्यवसायको वातावरण निर्माणका विषयमा समेत उनले निरन्तर आवाज उठाउँदै आएका छन्।
यसअघि दाङ जिल्ला उद्योग वाणिज्य संघको सचिव तथा वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका श्रेष्ठले संघको नेतृत्व र कार्यसम्पादनको अनुभव हासिल गरिसकेका छन्। त्यसअघि वि.सं. २०५४ सालमा तत्कालीन प्युठानको भिङ्ग्री गाविस–२ को वडा अध्यक्षको जिम्मेवारीसमेत सम्हालेको उनको पृष्ठभूमि छ।
युवा व्यवसायी पलायन तथा व्यवसाय सञ्चालनमा देखिएका विभिन्न चुनौतीलाई समाधान गर्न व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा श्रेष्ठले जोड दिँदै आएका छन्। दाङमा नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रको कामलाई गति दिनेदेखि घोराहीका व्यवसायीलाई विस्थापित हुन नदिई स्थानीयस्तरमै व्यवसायिक वातावरण निर्माण गर्ने विषयलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्।
अध्यक्ष पदमा उम्मेदवारी दिँदै श्रेष्ठले आफ्नो जितलाई व्यक्तिगत उपलब्धिभन्दा पनि व्यवसायीको साझा जितका रूपमा लिएको बताएका छन्। साना तथा ठूला व्यवसायी, होटल व्यवसायी र समग्र उद्योगी–व्यवसायीका समस्या समाधानमा आफूले प्राथमिकताका साथ काम गर्ने उनको प्रतिबद्धता छ।
कोभिड–१९ महामारीका बेला मास्क अभियानमा सक्रिय सहभागिता जनाएका श्रेष्ठले बैंकको ब्याजदर वृद्धिविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्नेदेखि व्यवसायिक शुल्क वृद्धिका विषयमा सडक आन्दोलनसम्मको नेतृत्वदायी भूमिकामा सहभागिता जनाएका थिए। संघमा रहेर काम गर्ने क्रममा व्यवसायीका समस्या नजिकबाट बुझ्ने र सम्बन्धित निकायसम्म पुर्याउने प्रयास गरेको उनको भनाइ छ।
विगतमा संघमा रहेर गरेको काम, व्यवसायिक क्षेत्रको अनुभव र सामाजिक गतिविधिमा देखाएको सक्रियतालाई आधार बनाउँदै श्रेष्ठ यसपटक अध्यक्ष पदका लागि बलिया उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्। आगामी असोज ११ गते हुने निर्वाचनले संघको आगामी नेतृत्व चयन गर्नेछ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
