• २६ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बुवा सदैव हृदयमा…




कुशे औँसी आउँदा धेरैले आफ्ना बुवालाई सम्झन्छन्। कसैले बुवाको अनुहार सम्झन्छ, कसैले उहाँको बोली, कसैले हातको स्पर्श। कसैका लागि यो बुवाको मुख हेर्ने दिन हो, कसैका लागि पिताप्रति सम्मान व्यक्त गर्ने अवसर। मेरा लागि भने कुशे औँसी आउँदा सबैभन्दा पहिले एउटा पुरानो कालोपाटी सम्झना आउँछ-त्यसमा सेतो खरीले कोरिएका केही टेढामेढा अक्षर सम्झना आउँछन् र ती अक्षर समातेर मलाई संसार चिनाउन खोजिरहेको एउटा अनुहार सम्झना आउँछ। त्यो अनुहार मेरो बुवाको हो।

मैले बुवाको माया पाएँ। उहाँबाटै मैले अक्षर चिनेँ। त्यसैले उहाँ मेरो बुवा मात्र होइन, मेरो पहिलो गुरु पनि हुनुहुन्थ्यो। मैले अक्षर कसरी चिनेँ भन्ने कुरा अहिले पूर्ण रूपमा सम्झन सक्दिनँ। बाल्यकालका धेरै दृश्यहरू समयसँगै धमिला भएका छन्। तर एउटा कुरा भने असाध्यै स्पष्ट छ- मलाई अक्षर चिनाउने पहिलो विद्यालय कुनै औपचारिक विद्यालय थिएन, मेरो पहिलो पाठशाला घरको आँगन थियो र पहिलो शिक्षक मेरा बुवा हुनुहुन्थ्यो।

जतिबेला म आफूले के सिकिरहेको छु भन्ने थाहा पाउने भइसकेको थिइनँ, त्यतिबेला मेरो हातमा कालोपाटी र खरी आइसकेको थियो।
कालोपाटी सफा गर्न सिमीको पातबाट रस निकालिन्थ्यो। आजको जस्तो डस्टर थिएन। सिमीको पातबाट निकालिएको रसले पाटी सफा गरिन्थ्यो र फेरि त्यसैमा नयाँ अक्षर कोरिन्थ्यो। मेरो बाल्यकालको त्यो कालोपाटी केवल लेख्ने साधन थिएन, त्यो मेरो संसारको पहिलो ढोका थियो।

खरी पनि बजारबाट किनेर ल्याइने वस्तु थिएन। नजिकैको खरीगैरा खोलाबाट बुवाले खरी ल्याउनुहुन्थ्यो। त्यसलाई दूधमा पकाएर खरी बनाइन्थ्यो। त्यसरी तयार भएको खरीले कालोपाटीमा लेख्दा अक्षरहरू सेता भएर चम्किन्थे।

सायद अहिलेका बालबालिकालाई यो कुरा अनौठो लाग्ला। आज अक्षर सिक्न रंगीन किताब छन्, पेन्सिल छन्, कापी छन्, मोबाइल र ट्याबलेट छन्। तर मेरो बाल्यकालमा एउटा कालोपाटी, केही खरी र सिकाउने बुवाको धैर्य नै पर्याप्त थियो।कालोपाटीमा मैले अक्षर मात्र चिनिनँ। अक्षरसँगै संसार चिन्न थालेँ।

बुवाले मलाई साँवा अक्षर सिकाउनुभयो। चिठी लेख्न सिकाउनुभयो। नक्षत्र, घडी, पला, शुभ साइतजस्ता ज्योतिषशास्त्रका केही आधारभूत कुरा पनि सिकाउनुभयो। म विद्यालय जानुअघि नै अक्षरको दुनियाँमा प्रवेश गरिसकेको थिएँ।

विद्यालय हाम्रो घरबाट अलि टाढा थियो। त्यसैले मलाई नौ वर्षको उमेरमा कक्षा २ मा भर्ना गरियो। तर विद्यालयको औपचारिक कक्षा सुरु हुनुअघि नै मेरो घरमा एउटा अनौपचारिक विद्यालय चलिसकेको थियो। त्यस विद्यालयका शिक्षक एउटै हुनुहुन्थ्यो- मेरा बुवा।
आज फर्केर हेर्दा लाग्छ, बुवाले मलाई अक्षर मात्र सिकाउनुभएको रहेनछ; उहाँले मलाई संसार पढ्ने आँखासमेत दिनुभएको रहेछ।
सायद त्यसैले होला, कक्षा २ देखि कक्षा १० सम्म मैले कहिल्यै दोस्रो हुनुपरेन। निमावि र मावि तहमा विद्यालय प्रथम हुने अवसर पनि निरन्तर प्राप्त भयो।

तर जीवनमा पछि जति पढेँ, जति जानेँ, जति लेखेँ, त्यति नै एउटा कुरा अझ गहिरो हुँदै गयो- त्यो उपलब्धिको सुरुवात मेरो हातमा समाइएको कालोपाटीबाट भएको थियो।

त्यसैले आज पनि मलाई भन्न मन लाग्छ- म केही पनि होइन, म त केवल बुवाआमाको निरन्तरता मात्र हुँ। मानिसले आफ्नो सफलताको कथा लेख्दा प्रायः आफ्नै संघर्षको कुरा गर्छ। मैले पनि जीवनमा संघर्ष गरेँ। अनेक अभाव, कठिनाइ र असहज परिस्थितिसँग जुधेँ। तर मेरो संघर्षको जगमा उभिएर हेर्दा एउटा पुरानो कालोपाटी देखिन्छ। त्यो कालोपाटीको पछाडि एउटा बुवा उभिएको देखिन्छ।

त्यो सम्झना मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। तर बुवासँगका सबै सम्झना त्यति उज्याला छैनन्। समयको दूरीसँगै केही दृश्यहरू विस्मृत भइसकेका छन्। यसको एउटा ठूलो कारण हो- मैले बुवाको माया र साथ लामो समय पाउन सकिनँ।
बाल्यकालको सुरुवातमा उहाँले मलाई अक्षरसँग साक्षात्कार गराउनुभयो। तर त्यसपछि समयको हिसाबले उहाँसँगको संगत विस्तारै कम हुँदै गयो।

कक्षा ६ देखि म अर्को गाउँमा रहेको कान्छी दिदीको घरमा बसेर पढ्न थालेँ। त्यसपछि बुवासँगको भेट झनै कम हुन थाल्यो। घरमा जाँदा पनि उहाँ प्रायः घरमै भेटिनुहुन्नथ्यो। बुवा घरमा कम बस्नुहुन्थ्यो। उहाँको जीवन घरको चार पर्खालभित्र सीमित थिएन। पेशाका हिसाबले कोल, तकसेरा लगायतका क्षेत्रमा निर्माण व्यवसायमा जानुहुन्थ्यो। घरमा आउनुभएको बेला पनि कसैको मुद्दा–मामिला मिलाउन जानुपर्ने, कसैको बिहे–पूजामा पुग्नुपर्ने, कसैको सामाजिक काममा सहभागी हुनुपर्ने हुन्थ्यो।

आमाले भनेअनुसार बुवा आफ्नो कुल समयको करिब एक चौथाइ समय मात्र घरमा बस्नुभएको थियो। बालकका रूपमा मैले त्यतिबेला यसको अर्थ बुझिनँ। बुवा किन घरमा हुनुहुन्न भन्ने प्रश्नको उत्तर मेरो उमेरले खोज्न सक्दैनथ्यो। अहिले आएर बुझ्छु—उहाँको जीवन केवल आफ्ना सन्तानका लागि मात्र थिएन, उहाँ समाजका लागि पनि बाँचिरहनुभएको थियो।

सायद त्यसैले उहाँको घरमा अनुपस्थितिलाई त्यतिबेला मैले अभावका रूपमा महसुस गरेँ, तर आज त्यसलाई उहाँको सामाजिक जीवनको अर्को पाटोका रूपमा बुझ्छु। विडम्बना के भयो भने, बुवासँगको संगत फेरि बढ्ने उमेरमै उहाँ हामीबाट सधैँका लागि टाढिनुभयो।
म कक्षा १० मा पढ्दै थिएँ। एसएलसी परीक्षा आउन केवल १४ दिन बाँकी थियो। त्यही बेला बुवाको असामयिक निधन भयो।
त्यो केवल बुवाको मृत्यु थिएन, मेरो अभिभावकत्वको पनि अन्त्य थियो।

एउटा बालकका लागि बुवा गुमाउनु भनेको एउटा मानिस गुमाउनु मात्र होइन रहेछ। बुवासँगै धेरै सम्भावना, धेरै सपना र भविष्यका धेरै कल्पनाहरू पनि अचानक अनिश्चित हुने रहेछन्। मैले बाल्यकालमा देखेका सयौँ सपनाको बीचमा बुवा एउटा अदृश्य आधार हुनुहुन्थ्यो। उहाँ हुनुहुन्छ भन्ने विश्वासमै भविष्यको एउटा सामान्य चित्र बनेको थियो। तर उहाँको निधनपछि त्यो चित्र एकाएक भत्कियो।

एसएलसी परीक्षा आउन १४ दिनअघि बुवा गुमाउनुको पीडा आज पनि सम्झँदा शब्दहरू अपुग हुन्छन्। परीक्षा दिनुपर्ने उमेरमा एउटा सन्तानले आफ्नो जीवनको सबैभन्दा ठूलो परीक्षा दिइरहेको थियो-बुवाविना जीवनको।
त्यो समय पार गर्न सजिलो थिएन। हो, आमाले बुवाको समेत माया र अभिभावकत्व दिनुभयो। आमाले हामीलाई सम्हाल्नुभयो। कान्छी दिदीले करिब पाँच वर्षसम्म यसरी अभिभावकत्व दिनुभयो कि कहिलेकाहीँ बाआमाको माया नै बिर्सिएजस्तो लाग्थ्यो। साइला दाइको कुशल अभिभावकत्वले मलाई परिवार र जिल्लाभन्दा बाहिरको संसारसँग परिचित हुन सिकायो। जीवनको संघर्षको मैदानमा हाम फाल्ने साहस पनि त्यही अभिभावकत्वले दियो।

त्यसैले म आज जहाँ छु, त्यहाँ केवल मेरो बुवाको योगदान मात्र छैन। आमाको त्याग छ, दिदीको माया छ, दाइको अभिभावकत्व छ। मेरा जीवनका अनेक मोडमा मलाई सम्हाल्ने धेरै हातहरू छन्।
तर पनि मनको कुनै कुनामा एउटा खाली ठाउँ सधैँ बाँकी छ।
त्यो ठाउँ बुवाको हो।

कहिलेकाहीँ सोच्ने गर्छु- बुवा बाँच्नुभएको भए आज म कहाँ हुन्थेँ होला? सायद फरक क्षेत्रमा हुन्थेँ। सायद मेरो बाटो अर्कै हुन्थ्यो। सायद जीवनका केही निर्णयहरू फरक हुन्थे। सायद केही सपनाहरू अझ चाँडै पूरा हुन्थे। वा सायद केही पनि फरक हुँदैनथ्यो।
यसको उत्तर मसँग छैन। तर प्रश्न भने अझै छ।

बुवा बाँच्नुभएको भए आज म फरक क्षेत्रमा हुने थिएँ कि ? यो प्रश्नको कुनै वैज्ञानिक उत्तर छैन। कुनै ज्योतिषीय गणनाले पनि यसको निश्चित उत्तर दिन सक्दैन। तर एउटा छोराको मनमा बुवाको अनुपस्थितिले जन्माएको प्रश्न हो यो। त्यसैले यसको उत्तर खोजिरहनु पनि सायद जीवनको एउटा अनन्त यात्रा हो।

बुवाले मलाई ज्योतिषका नक्षत्र र समयका हिसाब सिकाउनुभएको थियो। घडी, पला, शुभ साइतका कुरा सिकाउनुभएको थियो। तर उहाँले आफ्नै जीवनको अन्तिम समय कहिले आउँछ भन्ने थाहा पाउनुभएन होला। न त मलाई थाहा थियो, एसएलसी परीक्षा आउनुभन्दा १४ दिनअघि मेरो जीवनको एउटा ठूलो अध्याय बन्द हुनेछ।

कहिलेकाहीँ लाग्छ- बुवाले मलाई समय पढ्न सिकाउनुभयो, तर उहाँ आफैँले पाएको समय कति छोटो थियो भन्ने मैले धेरै पछि बुझें। मानिसको जीवनमा कतिपय सम्बन्धहरू यस्ता हुन्छन्, जसको मूल्य उनीहरू साथमा हुँदा भन्दा टाढा गएपछि बढी बुझिन्छ। बुवासँगको मेरो सम्बन्ध पनि त्यस्तै भयो।

बाल्यकालमा बुवाले हात समाएर अक्षर लेखाउनुभयो। ठूलो हुँदै जाँदा उहाँको हात समातेर हिँड्ने समय आएन। जीवनका महत्वपूर्ण निर्णयहरूमा उहाँसँग सल्लाह गर्ने उमेर आउँदै गर्दा उहाँ हुनुहुन्नथ्यो।
सायद यही कारणले होला, म आफूजस्तै बुवाविहीन सन्तानहरूलाई भेट्दा उनीहरूको आँखामा आफ्नै कथा देख्छु। बुवाविहीन सन्तान कहिलेकाहीँ मलाई कम्पास हराएको जहाजजस्तो लाग्छ।
जहाज चलिरहन्छ। समुद्र पार गर्न खोज्छ। कहिले दायाँ मोडिन्छ, कहिले बायाँ। छालसँग संघर्ष गर्छ। आँधीसँग जुध्छ। तर उसको दिशाबोधमा कतै न कतै एउटा अभाव हुन्छ।

बुवाको अभाव पनि त्यस्तै हो। तर यसको अर्थ बुवाविहीन सन्तानको यात्रा समाप्त हुन्छ भन्ने होइन। आमाको माया, दाजुभाइ, दिदीबहिनीको साथ, शिक्षकको प्रेरणा, साथीहरूको सहयोग र आफ्नै संघर्षले त्यो जहाजलाई अगाडि बढाइरहन्छ। म पनि बढेँ।
तर यात्रा गर्दै गर्दा कहिलेकाहीँ पछाडि फर्केर हेर्छु। त्यहाँ एउटा पुरानो घर देखिन्छ। घरको कुनै कुनामा एउटा कालोपाटी देखिन्छ। हातमा खरी बोकेर एउटा मानिस बसेको देखिन्छ। अनि एउटा बालक अक्षर बनाउन खोजिरहेको देखिन्छ।

त्यो बालक म हुँ। त्यो मानिस मेरो बुवा हुनुहुन्छ। अहिले म आफैँ शिक्षण पेसामा छु। विद्यार्थीहरूलाई ज्ञान, जीवन र समाजका कुरा सिकाउँछु। कक्षाकोठामा उभिँदा कहिलेकाहीँ आफ्नै बाल्यकाल सम्झिन्छु। विद्यार्थीको हातमा कलम देख्दा मेरो हातको त्यो खरी सम्झन्छु। कालोपाटीमा लेखिएको अक्षर देख्दा आफ्नै पुरानो पाटी सम्झन्छु।

अनि मनमनै लाग्छ- म जहाँ छु, त्यही पुरानो कालोपाटीको निरन्तरता हो। बुवाले मलाई अक्षर सिकाउनुभयो। ती अक्षरले मलाई संसार पढ्न सिकाए। संसार पढ्दै जाँदा मैले बुवालाई अझ धेरै बुझ्न थालेँ। बुवाको जीवनका धेरै पक्ष मैले उहाँ जीवित हुँदा बुझ्न सकिनँ। उहाँको सामाजिक सक्रियता, अरूका समस्या समाधान गर्न दौडिनुपर्ने बानी, घरभन्दा बाहिरको व्यस्तता- यी सबै कुरा बाल्यकालको आँखाले केवल ‘बुवा घरमा नहुनु’ भनेर मात्र बुझ्यो।
आज लाग्छ, बुवाको जीवनबारे मैले धेरै कुरा उहाँबाट प्रत्यक्ष सिक्न पाएनँ। बाँकी कुरा समाजका मानिसहरूबाट, परिवारका सदस्यहरूबाट र आफ्नै स्मृतिका टुक्राहरूबाट जोड्दै बुझ्नुपर्ने भयो।

त्यसैले मेरा लागि बुवाको सम्झना केवल व्यक्तिगत दुःखको विषय होइन। यो एउटा खोज पनि हो- मेरो बुवाको जीवनलाई बुझ्ने खोज।
उहाँ कस्तो बुवा हुनुहुन्थ्यो?
कस्तो अभिभावक हुनुहुन्थ्यो?
समाजले उहाँलाई कसरी हेर्थ्यो?
उहाँले अरूका लागि के गर्नुभयो?
उहाँका आफ्नै सपना के थिए?
यी प्रश्नका धेरै उत्तर अझै बाँकी छन्।

समयले साथ दियो भने कुनै दिन म ती उत्तरहरू खोज्नेछु। बुवासँग जोडिएका अरू स्मृतिहरू, उहाँको अभिभावकत्व, उहाँको सामाजिक योगदान र उहाँलाई समाजले हेर्ने दृष्टिकोण समेटेर विस्तृत सामग्री लेख्नेछु। सायद त्यो केवल एउटा संस्मरण हुनेछैन, मेरो पुस्ताको एउटा समयको दस्तावेज पनि हुनेछ।

तर आज, कुशे औँसीको दिन, म यति मात्र सम्झन चाहन्छु-
मेरो हातमा पहिलोपटक कालोपाटी समाउने हात मेरा बुवाका थिए।
पहिलोपटक अक्षर कोर्न सिकाउने मानिस मेरा बुवा थिए। खरीगैरा खोलाबाट खरी ल्याएर दूधमा पकाई त्यसलाई अक्षरको साधन बनाउने मानिस मेरा बुवा थिए। सिमीको पातबाट पाटी सफा गर्न सिकाउने मानिस पनि मेरा बुवा थिए।

उहाँले मलाई अक्षर मात्र सिकाउनुभएन; अक्षरमार्फत संसारसँग परिचित गराउनुभयो। आज म जे लेख्छु, जे पढ्छु, जे सिकाउँछु-त्यसको धेरै टाढाको सुरुवात त्यही कालोपाटीमा कोरिएको एउटा सानो अक्षरबाट भएको थियो।

त्यसैले मेरो स्मृतिमा बुवा कुनै पुरानो फोटोभित्र बन्द भएर बस्नुभएको छैन। उहाँ त हरेक अक्षरमा हुनुहुन्छ। हरेक कक्षाकोठामा हुनुहुन्छ। विद्यार्थीको हातमा देखिने कलममा हुनुहुन्छ।
म आफू जहाँ हुन्छु, कतै न कतै उहाँको छाया मसँगै उभिएको हुन्छ। जब कुशे औँसी आउँछ, म बुवाको अनुहार सम्झन्छु।
त्यसपछि त्यो अनुहारसँगै एउटा कालोपाटी देख्छु।

कालोपाटीमा सेतो खरीले कोरिएको पहिलो अक्षर देख्छु।
र त्यो अक्षर पढ्दा आज पनि एउटै कुरा मनमा आउँछ-
मैले अक्षर चिनेको दिन वास्तवमा मैले बुवालाई चिनेको पहिलो दिन रहेछ।

बुवा आज हुनुहुन्न। तर उहाँले चिनाउनुभएको अक्षरहरू आज पनि मसँग छन्। सायद यही नै एउटा बुवाको सबैभन्दा ठूलो निरन्तरता हो- सन्तानको जीवनमा आफू नरहे पनि आफूले दिएको उज्यालो बाँकी रहनु। त्यही उज्यालो बोकेर म आज पनि हिँडिरहेको छु।
पुज्य बुवाप्रति हार्दिक श्रद्धा र उच्च सम्मान।

Facebook Comments