घोराही । रसुवा बाढीमा ज्यान गुमाएका नागरिकको सम्झनामा सरकारले आह्वान गरेको राष्ट्रिय शोक दिवसका अवसरमा दाङको घोराहीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। बाढीमा ज्यान गुमाएकाहरूको तेह्रौँ दिनको पुण्यतिथिमा घोराहीस्थित ज्ञानसिन्धु माध्यमिक विद्यालय र राप्ती शिक्षा क्याम्पसका शिक्षक तथा विद्यार्थीहरूले दीप प्रज्वलन गर्दै मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरेका हुन्।
राष्ट्रिय विपत्तिका रूपमा रहेको रसुवा बाढीमा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्न आयोजित कार्यक्रममा राष्ट्रिय झण्डासमेत आधा झुकाइएको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी तथा क्याम्पसका कर्मचारीहरूको सहभागिता रहेको थियो।

श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै राप्ती शिक्षा क्याम्पसका प्रमुख तथा ज्ञानसिन्धु माध्यमिक विद्यालयका प्राचार्य हुकुमबहादुर बुढाथोकीले प्राकृतिक विपत्ति कुनै जिल्ला वा क्षेत्र विशेषको मात्र समस्या नभई मानव जातिकै साझा संकट भएको बताउनुभयो।
उहाँले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा विकासशील देशहरू प्राकृतिक विपत्तिको जोखिममा बढी परेको उल्लेख गर्दै विपत्तिको सामना गर्न राज्य र नागरिक दुवै तहबाट एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभयो।
“विपत्तिबाट हुने जनधनको क्षति देशकै साझा क्षति हो,” उहाँले भन्नुभयो, “यसबाट सिर्जित पीडा कम गर्न सरकारको पूर्वतयारी र जनस्तरको सहकार्य उत्तिकै आवश्यक छ।”
बुढाथोकीले विपत्तिका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षामा असर पर्न नदिन आफ्नो संस्थाले सहयोग गर्ने घोषणा पनि गर्नुभयो। उहाँले आफूले नेतृत्व गरेको राप्ती शिक्षा क्याम्पस, ज्ञानसिन्धु माध्यमिक विद्यालय र ज्ञानसिन्धु एजुकेशनल एकेडेमीमा नर्सरीदेखि स्नातकोत्तरसम्म अध्ययन हुने उल्लेख गर्दै रसुवा बाढीमा ज्यान गुमाएका व्यक्तिका सन्तानलाई शिक्षाबाट वञ्चित हुन नदिन निःशुल्क अध्ययनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।
रसुवा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिले विपत् व्यवस्थापन, पूर्वसूचना प्रणाली, उद्धार तथा पुनःस्थापनामा राज्यको तयारीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याएको छ।
तस्विरहरुः कुलदीप न्यौपाने

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
