घोराही । भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार तथा राहतका लागि गोरखा ग्रुप, दाङले १० लाख १ हजार ९ सय १४ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
‘सहयोगार्थ हात, आशाको साथ’ भन्ने मूल नाराका साथ गोरखा ग्रुप अन्तर्गत सञ्चालित विभिन्न विद्यालय, कलेज तथा हस्पिटलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट संकलित उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा रहेको हिमालयन बैंकको खातामा जम्मा गरिएको जानकारी गोरखा ग्रुपका प्रमुख कार्यकारी निर्देशक नवल जीएमले दिएका छन्।
उक्त राहत कोषमा गोरखा ग्रुप अन्तर्गतका विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्थाहरूले योगदान पुर्याएका छन्। जसअनुसार गोरखा स्कूल घोराहीका शिक्षक तथा कर्मचारीहरूबाट रु. २,५३,००० र गोरखा स्कूल तुल्सीपुरबाट रु. २,३९,४४५ संकलन भएको छ। यसैगरी गोरखा स्कूल लम्हीबाट रु. १,५६,०००, गोरखा पब्लिक हस्पिटल दाङबाट रु. १,०९,१११, गोरखा स्कूल लालमटियाबाट रु. ७९,००० तथा विक्टोरिया कलेज दाङबाट रु. ५०,४५८ सहयोग प्राप्त भएको छ। त्यसैगरी गोरखा मोडेल कलेज तुल्सीपुरले रु. ५०,०००, गोरखा रेसिडेन्सियल स्कूल तुल्सीपुरले रु. ४५,९३३ र स्वर्णिम देउखुरी कलेज देउखुरीले रु. ३५,००० योगदान गरेका छन्।
विपदको यस कठिन घडीमा मानवीय भावनाका साथ हातेमालो गर्दै सहयोग हात बढाउने सम्पूर्ण शिक्षक, कर्मचारी तथा सहयोगी मनहरूप्रति गोरखा ग्रुपले हार्दिक आभार व्यक्त गरेको छ। यस प्रकारको एकीकृत सहयोगले बाढी प्रभावित क्षेत्रका पीडितहरूको जीवनरक्षा, राहत तथा पुनर्स्थापनामा ठूलो आशा र भरोसा जगाउने विश्वास समेत ग्रुपले व्यक्त गरेको छ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
