दाङ । व्यापार, पर्यटन र कृषि क्षेत्रको प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै दाङ जिल्ला उद्योग वाणिज्य संघले छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव बाट छुट्याइएको दैवीप्रकोप राहत रकममध्ये १ लाख ११ हजार १ सय ११ रुपैयाँ रसुवा बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ।
यही भदौ १० गते रसुवामा आएको बाढी तथा पहिरोबाट ठूलो धनजनको क्षति भएपछि विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संघले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको हो।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले महोत्सवको प्रस्तावनामा दैवीप्रकोप राहतका लागि छुट्याइएको रकममध्येबाट सहयोग गर्ने निर्णय गरेको महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए।
संघले आयोजना गरेको छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव केवल व्यापारिक कारोबार, कृषि तथा पर्यटनको प्रवर्द्धन र मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको बताइएको छ। महोत्सवको प्रस्तावनामै दैवीप्रकोप राहतका लागि रकम छुट्याइएको थियो। अहिले देशको एउटा भूभाग विपद्को पीडामा रहेका बेला सोही रकमबाट रसुवाका पीडित नागरिकलाई सहयोग गर्न लागिएको हो।
रसुवामा आएको बाढीले धेरै परिवारलाई ठूलो क्षति पुर्याएको छ। कतिपयले आफन्त गुमाएका छन् भने कतिपयको घर, व्यवसाय तथा सम्पत्ति बाढीको भेलमा बगेको छ। विपद्पछि विस्थापित परिवारको दैनिकीसमेत कष्टकर बनेको अवस्थामा राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोगको आवश्यकता बढिरहेको छ।
यस्तो अवस्थामा महोत्सवका लागि छुट्याइएको रकमलाई विपद्मा परेका नागरिकको सहयोगमा प्रयोग गर्ने निर्णयलाई संघको सामाजिक संवेदना र जिम्मेवारीबोधको सकारात्मक उदाहरणका रूपमा लिइएको छ।
अध्यक्ष वसन्त जोशीले व्यापारिक तथा आर्थिक गतिविधिसँगै सामाजिक सेवामा समेत उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण हुने बताए। विपद् कुनै एक जिल्ला वा क्षेत्रको मात्र समस्या नभई सिंगो देशको साझा पीडा भएकाले कठिन समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ।
महासचिव महेन्द्र बुढाथोकीका अनुसार महोत्सवको प्रस्तावनामै छुट्याइएको दैवीप्रकोप राहत रकमलाई अहिलेको आवश्यकता हेरेर रसुवा बाढीपीडितका लागि उपयोग गर्ने निर्णय गरिएको हो। विपद्मा परेका नागरिकलाई थोरै भए पनि राहत पुगोस् र उनीहरूको पीडामा साथ रहेको अनुभूति दिलाउन सकियोस् भन्ने उद्देश्यले सहयोग गर्न लागिएको उनले बताए।
महोत्सव आयोजना गर्दा व्यापार र व्यवसायको विस्तारसँगै समाजप्रतिको दायित्वलाई पनि आत्मसात् गरिएको संघले जनाएको छ। उत्सव बाट छुट्याइएको रकम विपद्को घडीमा पीडितका लागि खर्चिनु महोत्सवको सामाजिक उद्देश्यलाई समेत अर्थपूर्ण बनाउने प्रयास भएको संघको भनाइ छ।
रकम सानो–ठूलोभन्दा पनि दुःखको समयमा देखाइएको ऐक्यबद्धता र मानवीय भावना महत्वपूर्ण हुने भन्दै संघले विपद्मा परेका नागरिकको सहयोगका लागि सबै क्षेत्रलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
