कमिरेचौर। दाङको बंगलाचुली गाउँपालिकाका कर्मचारीको नियमित बैठक सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा बुधबार सम्पन्न बैठकमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, दैनिक कार्यसम्पादन सुधार गर्ने तथा चालू आर्थिक वर्षका योजना समयमै कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो।
बैठकलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले नागरिकलाई प्रदान गरिने सेवा थप व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन कर्मचारीहरू जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले चालू आर्थिक वर्षका योजना तोकिएको समयभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै पालिकाको कार्यसम्पादन मूल्यांकन हालसम्म राम्रो अवस्थामा रहेको उल्लेख गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत पौडेलले चालू आर्थिक वर्षको साउन १ गतेदेखि कर्मचारीको कार्यसम्पादन मूल्यांकन अनलाइन प्रणालीमार्फत हुने जानकारी गराउँदै योजना तथा कार्यक्रम सम्पन्न भएपछि ३० दिनभित्र सम्बन्धित कर्मचारीले आफ्नै आइडीबाट आवश्यक कागजात अपलोड गर्न निर्देशन दिनुभयो। तोकिएको समयभित्र विवरण तथा कागजात अपलोड नगरे दैनिक कार्यसम्पादन मूल्यांकनमा प्राप्त हुने अंकमा असर पर्न सक्ने उहाँले बताउनुभयो।
बैठकमा वरिष्ठ लेखा अधिकृत नारायणप्रसाद आचार्यले गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली कार्यान्वयनमा आइसकेको जानकारी गराउँदै सबै कर्मचारीलाई नियमित रूपमा कार्यालय उपस्थित भई अनिवार्य हाजिरी गर्न आग्रह गर्नुभयो। डिजिटल हाजिरी छुटेको अवस्थामा सूत्र प्रणालीमार्फत तलब कट्टी हुने भएकाले कर्मचारीहरू कार्यालय समयप्रति थप जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो।
उहाँले गाउँपालिकाअन्तर्गत सञ्चालित योजना कार्यान्वयन गर्दा स्वीकृत योजनाको नाम, स्थान र उद्देश्यअनुसार नै काम गर्नुपर्नेमा जोड दिनुभयो। आर्थिक वर्षको अन्तिम समय असारमा मात्र योजना सञ्चालन तथा सम्पन्न गर्ने परिपाटी अन्त्य गर्दै चालू आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो। योजनाको काम समयमै सम्पन्न गर्न सके बेरुजु न्यूनीकरणमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो।
त्यस्तै, प्रशासन प्रमुख नुमाकान्त कालाथोकीले गाउँपालिका तथा मातहतका अधिकांश कार्यालयमा डिजिटल हाजिरी प्रणाली जडान भइसकेको र बाँकी कार्यालयमा समेत चाँडै प्रणाली विस्तार गरिने जानकारी दिनुभयो। डिजिटल हाजिरी प्रभावकारी रूपमा कार्यान्वयनमा आएपछि सबै कर्मचारीले नियमित रूपमा कार्यालयमा उपस्थित भएर हाजिरी गर्नुपर्ने उल्लेख गर्दै हाजिरी छुटेको दिनको तलब कट्टी हुने व्यवस्था रहेको बताउनुभयो।
बैठकमा गाउँपालिकाका विषयगत शाखा प्रमुख तथा कर्मचारीहरूले हालसम्म सम्पन्न गरेका कामको प्रगति तथा उपलब्धिबारे जानकारी गराउँदै सेवा प्रवाहका क्रममा देखिएका समस्या र चुनौतीहरू प्रस्तुत गरेका थिए। छलफलका क्रममा सेवा प्रवाहमा देखिएका समस्या समाधान, योजना कार्यान्वयनलाई गति दिने तथा कार्यालयको समग्र कार्यसम्पादन प्रभावकारी बनाउने विषयमा आवश्यक सुझाव आदानप्रदान गरिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन प्रशासन प्रमुख नुमाकान्त कालाथोकीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
