दाङ । चर्चित दंगाली मोडेल नारायणी खत्रीले ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ अन्तर्गत उत्कृष्ट महिला नृत्य मोडलतर्फको अवार्ड प्राप्त गरेकी छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिको आयोजनामा सम्पन्न अवार्ड समारोहमा खत्रीले चर्चित लोकदोहोरी गीत ‘करिमै’ मा गरेको अभिनय तथा नृत्यका लागि उक्त अवार्ड प्राप्त गरेकी हुन्।
पछिल्लो समय लोकदोहोरी तथा म्युजिक भिडियो क्षेत्रमा व्यस्त र चर्चित मोडेलका रूपमा परिचित खत्रीलाई दंगाली मोडेलका रूपमा समेत चिनिन्छ। प्युठानमा जन्मिएकी उनको बाल्यकाल भने दाङमा बितेको हो। हाल उनी काठमाडौंलाई कर्मथलो बनाएर कलाकारिता क्षेत्रमा सक्रिय छिन्। लोकदोहोरी तथा म्युजिक भिडियो हुँदै उनी ठूलो पर्दामा समेत देखिन थालेकी छन्।
अवार्ड प्राप्त गरेपछि खत्रीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै यो क्षण आफ्नो जीवनकै विशेष र अविस्मरणीय दिन भएको बताएकी छन्। उनले आफ्नो सफलतामा लोक संगीतले दिएको माया, पहिचान र सम्मानको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि लोक संस्कृतिको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
आफ्नो हरेक यात्रामा साथ, माया र हौसला दिने दर्शक, शुभचिन्तक, अग्रज तथा आफन्तप्रति उनले आभार व्यक्त गरेकी छन्। विशेषगरी ‘करिमै’ गीतका सर्जक खेम सेन्चुरी र नेत्र अर्याल लगायत ‘करिमै’ परिवारप्रति उनले विशेष धन्यवाद व्यक्त गरेकी छन्।
खत्रीले आफ्नो सफलताको श्रेय घर–परिवार तथा आमाबुवालाई समेत दिएकी छन्। आमाबुवाले दिएको संस्कार, आशीर्वाद र हौसलाकै कारण आफू आजको स्थानसम्म आइपुग्न सफल भएको उनको भनाइ छ।
“लोक मेरो पहिचान हो, लोक मेरो संस्कार हो, लोक नै मेरो जीवन हो,” खत्रीले सामाजिक सञ्जालमा लेखेकी छन्।
‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ बाट प्राप्त सम्मानले आफ्नो कलाकारिता यात्रामा थप उत्साह र ऊर्जा थपिएको खत्रीले बताएकी छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

