• ६ भाद्र २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत




घोराही, ६ भदौ । ज्ञानसिन्धु माध्यमिक विद्यालय, घोराहीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् ।

घोराहीको बहुउद्देश्यीय सभाहलमा कार्यक्रम आयोजना गरी उनीहरूले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् । सो क्रममा उनीहरूले नवआगन्तुक विद्यार्थीलाई अबिर र खादा लगाउनुका साथै शैक्षिक सामग्री उपहारसमेत दिएका थिए ।

कक्षा १२ की छात्रा मनिषा परियारको अध्यक्षता तथा राप्ती शिक्षा क्याम्पसका प्रमुख एवं ज्ञानसिन्धु माविका प्राचार्य हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि बुढाथोकीले अनुशासन र लगनशीलता नै विद्यार्थीको पूँजी भएको उल्लेख गर्दै ज्ञानसिन्धुका विद्यार्थीले अनुशासनलाई केन्द्रमा राखेर पठनपाठन अघि बढाउनु गर्वको विषय भएको बताउनुभयो । पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढिरहेको उल्लेख गर्दै उहाँले प्रगतिका लागि प्रविधिको प्रयोग गर्न सकिने भए पनि प्रविधिको दास बन्न नहुने बताउनुभयो। निरन्तरको नयाँ खोज नै पढाइको सार भएको उल्लेख गर्दै उहाँले त्यसका लागि सिर्जनशील चिन्तन र गहिरो अध्ययन आवश्यक हुने भएकाले पठनपाठन नै विद्यार्थीका लागि मूल कर्म हो भन्ने कुरा हरेक विद्यार्थीले बोध गर्नुपर्ने बताउनुभयो ।

विद्यालयका शैक्षिक संयोजक तिलक अधिकारीले हरेक वर्ष कक्षा १२ ले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्ने र कक्षा ११ ले कक्षा १२ का विद्यार्थीलाई बिदाइ गर्ने गरेको बताउनुभयो । विद्यार्थी आफैँले कार्यक्रम आयोजना गरी स्वागत तथा बिदाइ गर्ने भएकाले यसबाट उनीहरूबीच सामीप्यता बढ्नुका साथै पठनपाठनमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।

सो क्रममा कक्षा १२ को बोर्ड परीक्षामा प्रथम हुने आयुष विक, द्वितीय हुने निर्मला खड्का र तृतीय हुने चन्द्रकला ओलीलाई पुरस्कारसहित सम्मान गरिएको थियो । त्यस्तै, कक्षा ११ को अन्तिम परीक्षामा प्रथम हुने सविन प्रियासन बुढाथोकी, द्वितीय हुने शैलेन्द्र पुन र तृतीय हुने सन्दीप बोहरालाई पनि सम्मान गरिएको थियो । पुरस्कार तथा सम्मानसत्रको सहजीकरण शिक्षक देव भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा तीन दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो भने विद्यार्थीले नाटकसमेत प्रदर्शन गरेका थिए । कक्षा १२ का छात्र विशाल विक र अनिल पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो भने ऋतु पुरीले गीतमार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी विपना ओली र शैलेन्द्र पुनले गर्नुभएको थियो ।

Facebook Comments