दाङ । पछिल्लो समय व्यस्त तथा चर्चित मोडेल नारायणी खत्री अब ठूलो पर्दामा देखिने भएकी छन्। शुक्रबारदेखि छायांकन सुरु भएको नेपाली चलचित्र ‘यानीमाया’ बाट उनले चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी हुन्।
चलचित्रमा नायक पल शाहसँगै नारायणीले अभिनय यात्रा सुरु गर्ने भएकी छन्। यद्यपि चलचित्रमा उनको भूमिका कस्तो रहनेछ भन्ने विषयमा भने निर्माण पक्षले हालसम्म केही खुलाएको छैन ।
चलचित्र यात्राको सुरुवातसँगै नारायणीले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्। उनले यो अवसरलाई आफ्नो जीवनको विशेष तथा अविस्मरणीय क्षणका रूपमा लिएकी छन्।
आफ्नो जन्ममहिना साउनमै कर्म र सपनाको नयाँ यात्रा सुरु गर्न पाउनु उनका लागि थप विशेष बनेको उनले उल्लेख गरेकी छन्। उनले आफूलाई जन्म दिने ममी–बाबाप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दै चलचित्र क्षेत्रमा अवसर र विश्वास दिएकोमा नायक पल शाहप्रति पनि विशेष आभार प्रकट गरेकी छन्।
‘कामलाई शिरमा सजाएर सधैँ अगाडि बढ्न पाऊँ’ भन्ने भाव व्यक्त गर्दै नारायणीले आफ्नो नयाँ यात्रामा दर्शक तथा शुभेच्छुकबाट निरन्तर माया, साथ र आशीर्वादको अपेक्षा गरेकी छन्।
मोडलिङ क्षेत्रमा आफ्नो पहिचान बनाइसकेकी नारायणीको ठूलो पर्दाको यात्रा कस्तो रहनेछ भन्ने चासो अहिले बढेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

