घोराही । दाङ उद्योग वाणिज्य संघअन्तर्गत रेडिमेट तथा फेन्सी व्यवसायी समिति, घोराहीको दशौँ साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा सहभागी वक्ताहरूले व्यवसायीका समस्या समाधान, व्यवसाय प्रवर्द्धन तथा व्यवसायिक हकहित संरक्षणका लागि व्यवसायीहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टङ्क बुढाथोकी प्रमुख अतिथि तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, फेन्सी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, प्लास्टिक व्यवसायी समितिका अध्यक्ष खेमराज भण्डारीलगायत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा वक्ताहरूले पछिल्लो समय व्यवसायीहरूले भोगिरहेका समस्या, बजारमा देखिएको प्रतिस्पर्धा, कर तथा नीतिगत चुनौती र व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र प्रभावकारी पहल आवश्यक रहेको बताए।

उनीहरूले स्थानीय उत्पादन तथा व्यापारको प्रवर्द्धन, व्यवसायमा नयाँ प्रविधिको प्रयोग र उपभोक्तामैत्री सेवा विस्तारमार्फत व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।
साधारणसभाको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने दाताहरूलाई सम्मानसमेत गरिएको थियो।
समितिका उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सचिव सञ्जीव श्रेष्ठ र सहसचिव गणेश पाण्डेले सञ्चालन गरेका थिए। कोषाध्यक्ष दामोदर पौडेलले समितिको आय–व्यय विवरण प्रस्तुत गरेका थिए।
साधारणसभाले व्यवसायीबीच सहकार्य र एकता कायम गर्दै व्यवसाय प्रवर्द्धनसँगै व्यवसायीको हकहित संरक्षणका लागि समितिलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

