• २७ श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा दिवसमा दाङका युवाले उठाए स्वास्थ्य, रोजगारी र सीपका सवाल




घोराही, दाङ । “भिन्न परिवेश, साझा आकाङ्क्षा” (Different Contexts, Common Aspirations) भन्ने नाराका साथ २७औँ अन्तर्राष्ट्रिय युवा दिवस २०२६ का अवसरमा दाङमा बिहानको पदयात्रा तथा युवासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको आयोजना तथा लक्ष्मीपुर युवा क्लब, जुनियर जेसिज घोराही, पाठशाला एजुकेसन प्रा.लि. र केयर गिभर तालिम केन्द्र दाङको सह–आयोजनामा कार्यक्रम आयोजना गरिएको हो। २०८३ साउन २७ गते बिहान ५ बजे लक्ष्मीपुर चोकदेखि हावा खाने डाँडासम्म पदयात्रा गरिएको थियो। पदयात्रामा विभिन्न क्षेत्रका युवाको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमलाई भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न “हामी र हाम्रो स्वास्थ्य अभियान, लक्ष्मीपुर” ले व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेको थियो। अभियानले पदयात्रा तथा कार्यक्रमको व्यवस्थापन, सहभागीको समन्वय र कार्यक्रमस्थल व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

पदयात्रापछि आयोजित अन्तरक्रिया कार्यक्रममा युवाको स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, बृहत् यौनिकता शिक्षा (CSE), मानसिक स्वास्थ्य, रोजगारी, व्यावसायिक तथा सीपमूलक शिक्षा र वर्तमान अवस्थामा युवाको भूमिकालगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रम नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका सभापति माया कुमारी पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जुनियर जेसिजकी आयुश्री आचार्य, पाठशाला एजुकेसन प्रा.लि.का रमेश खड्का, लक्ष्मीपुर युवा क्लबका सचिव खेम भण्डारी तथा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका पूर्व सचिव बिपुल पोख्रेलले युवाको स्वास्थ्य, आवश्यकता, रोजगारी, व्यावसायिक तथा सीपमूलक शिक्षाको आवश्यकता र वर्तमान अवस्थामा युवाको भूमिकाबारे आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले “नेपालका युवाको अवस्था : तथ्याङ्कीय संक्षिप्त प्रतिवेदन” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमा नेपालमा युवाको जनसांख्यिक अवस्था, शिक्षा, रोजगारी, बेरोजगारी, सीप विकास, स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, मानसिक स्वास्थ्य, लागू पदार्थको जोखिम, युवाका प्रमुख सरोकार तथा राज्य र युवाको भूमिकाका विषयमा तथ्याङ्कसहित जानकारी प्रस्तुत गरिएको थियो।

प्रस्तुतिमा राष्ट्रिय जनगणना २०७८/२०२१ का आधारमा १५–२४ वर्ष उमेर समूहका ५७ लाख ४९ हजार ४६४ युवा रहेको उल्लेख गर्दै युवाको श्रमशक्ति सहभागिता, रोजगारी तथा शिक्षा र रोजगारी, शिक्षा वा तालिममा संलग्न नरहेका (NEET) युवाको अवस्थाबारे जानकारी दिइएको थियो। युवाका लागि गुणस्तरीय शिक्षा, बजारमुखी सीप, सम्मानजनक रोजगारी, उद्यमशीलता र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो।

त्यस्तै, युवाको स्वास्थ्यलाई शारीरिक स्वास्थ्यमा मात्र सीमित नगरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, मानसिक स्वास्थ्य, पोषण, हिंसाबाट सुरक्षा, STI/HIV रोकथाम र स्वस्थ जीवनशैलीसँग जोडेर हेर्नुपर्नेमा जोड दिइएको थियो। किशोरावस्थामा हुने विवाह तथा गर्भधारण न्यूनीकरण, वैज्ञानिक तथा उमेरअनुकूल बृहत् यौनिकता शिक्षा र किशोर–युवामैत्री स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

अन्तरक्रियाका क्रममा युवाहरूले आफ्ना सवाल, जिज्ञासा तथा अपेक्षासमेत राखेका थिए। सहभागी वक्ताहरूले युवालाई केवल भविष्यका कर्णधारका रूपमा मात्र नभई आजकै विकासका सक्रिय साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिएका थिए।

युवाले शिक्षा र सीपमा निरन्तर लगानी, स्वस्थ जीवनशैली, सही स्वास्थ्य सूचना, जिम्मेवार डिजिटल प्रयोग, लागू पदार्थ तथा हिंसाबाट दूरी, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, सामाजिक सेवा तथा सकारात्मक नेतृत्वमार्फत राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने सन्देश कार्यक्रममा दिइएको थियो।

नेपाल परिवार नियोजन सङ्घले युवालाई सेवाका लाभग्राही मात्र नभई अधिकारधारी, परिवर्तनका साझेदार तथा नेतृत्वकर्ताका रूपमा स्वीकार गर्दै युवाको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, परिवार नियोजन, सुरक्षित गर्भपतन, STI/HIV, बृहत् यौनिकता शिक्षा तथा किशोर–युवामैत्री स्वास्थ्य सेवामा पहुँच र सहभागिता अझ बलियो बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

कार्यक्रमले युवाका साझा आकाङ्क्षा—गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, राम्रो स्वास्थ्य, समान अवसर, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र सुरक्षित भविष्य—सुनिश्चित गर्न राज्य, समुदाय, सङ्घसंस्था र युवाबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।

Facebook Comments