• २७ श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मेसिन आएपछि दुना टपरी उद्यममा छलाङ




आलोक भावुक
गढवा। गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाका महिलाले अब परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक रूपमा दुना टपरी उत्पादन गर्ने भएका छन्। हातैले दुना टपरी बनाउँदै आएका कक्रहवा महिला कृषक समूहका महिलालाई तीन आकारका डाइ सहितको उच्चस्तरीय दुना टपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ। युएन ह्याबिट्याट र गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित जलवायु मैत्री कृषि कार्यक्रमअन्तर्गत उक्त मेसिन उपलब्ध गराइएको हो। सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC) को पहल तथा गढवा गाउँपालिका वडा नम्बर ५ को समन्वय र सहकार्यमा मेसिन हस्तान्तरण गरिएको जलवायु मैत्री कार्यक्रमकी संयोजक निलम त्रिपाठीले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेखबहादुर थापाले दुना टपरी उत्पादनलाई केवल सामग्री बनाउने कामका रूपमा नभई महिलाको आर्थिक आत्मनिर्भरता र स्थानीय स्रोतको सदुपयोगसँग जोडेर अघि बढाउनुपर्ने बताउनु भयो । वडाध्यक्ष थापाले मेसिन पाएपछि उत्पादन सुरु गरेर मात्र नहुने भन्दै बजार व्यवस्थापन, गुणस्तर र निरन्तर उत्पादनमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

“हाम्रा गाउँघरमा खेर गइरहेका पातलाई आम्दानीको स्रोतमा बदल्न सकिन्छ। महिलासँग भएको परम्परागत सीपलाई प्रविधिसँग जोडेर व्यवसायका रूपमा अघि बढाउन सके यसले परिवारको आयआर्जनसँगै गाउँको अर्थतन्त्रमा पनि योगदान पुर्‍याउँछ,” वडाध्यक्ष थापाले भन्नुभयो।

मेसिन पाएसँगै समूहमा आबद्ध महिलाले स्थानीयस्तरमा सहजै उपलब्ध हुने साललगायतका पात प्रयोग गरी दुना–टपरी उत्पादन गर्ने तयारी गरेका छन्। उत्पादित सामग्री स्थानीय बजारमा बिक्री गर्ने योजना समूहको छ। यसबाट महिलाको परम्परागत सीपलाई आम्दानीको माध्यम बनाउने अपेक्षा गरिएको छ।

यसअघि हातैले दुना टपरी बनाउँदै आएका महिलालाई मेसिनको प्रयोगले उत्पादनको मात्रा बढाउन र श्रम तथा समय घटाउन सहयोग पुग्ने देखिएको छ। सामूहिक रूपमा उत्पादन र बजारीकरण गर्न सके स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनको अवसर विस्तार हुने अपेक्षा गरिएको छ।

दुना टपरी उत्पादनले आर्थिक गतिविधिसँगै वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ। प्लास्टिकका प्लेट तथा अन्य कृत्रिम सामग्रीको विकल्पका रूपमा प्राकृतिक पातबाट बनेका दुना टपरी प्रयोग गर्न सकिने भएकाले विवाह, भोज, धार्मिक तथा सामाजिक कार्यक्रममा यसको बजार विस्तार गर्न सकिने समूहको भनाइ छ।

जलवायु मैत्री कार्यक्रमकी संयोजक त्रिपाठीका अनुसार सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गढवा गाउँपालिकाका विभिन्न क्षेत्रमा समुदायको आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रम सञ्चालन तथा सहकार्य गर्दै आएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र गढवा गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालन भइरहेको विद्युतीय तथा सुधारिएको चुलो वितरण कार्यक्रम तथा गढवा ५ सिमलतारामा सिँचाइ र खानेपानीसम्बन्धी कार्यक्रममासमेत संस्थाले सहकार्य गरिरहेको उहाँले बताउनुभयो।

कक्रहवा महिला कृषक समूहकी अध्यक्ष शिवा दङ्गोलले मेसिन प्राप्त भएपछि महिलालाई परम्परागत कामलाई व्यवसायमा रूपान्तरण गर्ने अवसर मिलेको बताउनुभयो ।उहांका अनुसार उत्पादनको गुणस्तर, बजार व्यवस्थापन र सामूहिक बजारीकरणलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ।

मेसिन हस्तान्तरण कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेखबहादुर थापा, वडा सदस्यहरू खिमा डाँगी, निर्मला परियार र नरेश चौधरी, जलवायु मैत्री कार्यक्रमका वित्त अधिकृत दमन बुढाथोकी, कृषि प्राविधिक सागर शर्मा, गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक तथा महिला कृषक समूहका पदाधिकारीलगायतको सहभागिता थियो।

कार्यक्रम समूहकी अध्यक्ष शिवा दङ्गोलको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेखबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। मेसिन हस्तान्तरणसँगै कक्रहवाका महिलाले स्थानीय स्रोत, परम्परागत सीप र आधुनिक प्रविधिलाई जोडेर दुना टपरी उत्पादनलाई आयआर्जनको दिगो माध्यम बनाउने बाटो खुलेको छ।

Facebook Comments