• २७ श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘युवाले समयलाई हेरेर होइन, समयलाई आफ्नै कर्मले नयाँ दिशा दिनुपर्छ’–अध्यक्ष विष्ट




तुलबहादुर कवँर मगर
दाङ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले युवाले समयअनुसार आफूलाई परिवर्तन गर्दै समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

२७औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष विष्टले युवामा समय बुझ्ने चेतना, परिवर्तन स्वीकार गर्ने साहस र भविष्य निर्माण गर्ने ऊर्जा रहेको उल्लेख गर्नुभएको हो।

उहाँले युवालाई समयलाई हेरेर मात्र अघि बढ्ने नभई आफ्नै कर्मबाट समयलाई नयाँ दिशा दिन आग्रह गर्नुभएको छ। अघिल्ला पुस्ताले देखाएको बाटोबाट सिक्दै आजको पुस्ताले अझ फराकिलो बाटो निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।

अध्यक्ष विष्टले युवाको हातमा डिजिटल प्रविधि मात्र नभई सम्भावनाको संसार रहेको उल्लेख गर्दै सिर्जनशील सोच, सीप, उद्यम, प्रविधि, कला, खेलकुद र सामाजिक अभियानलाई विकाससँग जोड्नुपर्ने बताउनुभएको छ।

‘हामीलाई यस्तो युवा पुस्ता चाहिएको छ, जो आलोचना गर्न सक्छ तर विकल्प पनि दिन सक्छ, परिवर्तन चाहन्छ तर परिवर्तनको मूल्य चुकाउन पनि तयार हुन्छ, अधिकार माग्छ तर आफ्नो कर्तव्य पनि सम्झन्छ,’ उहाँले सन्देशमा भन्नुभएको छ।

उहाँले युवालाई निराशालाई आफ्नो परिचय नबनाउन, अवसर खोज्न र समस्यालाई चुनौतीका रूपमा लिन आग्रह गर्नुभएको छ। स्थानीय समस्याको समाधानमा युवाको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले गाउँ, ठाउँ र माटोप्रति गर्व गर्दै सकारात्मक काममा लाग्न आह्वान गर्नुभएको छ।

अध्यक्ष विष्टले युवाले आज गर्ने सही निर्णय र सिर्जना गर्ने ज्ञानले भविष्यका पुस्ताको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्नुभएको छ।

‘आज तपाईंले गरेको एउटा सही निर्णयले भोलिको पुस्ताको जीवन बदल्न सक्छ। आज तपाईंले रोपेको एउटा बिरुवाले वर्षौंपछि छायाँ दिन सक्छ। आज तपाईंले सिकेको एउटा ज्ञानले सयौँ जीवन उज्यालो बनाउन सक्छ,’ उहाँले भन्नुभएको छ।

युवा पुस्ता सम्भावनाको साझेदार बन्नुपर्ने बताउँदै अध्यक्ष विष्टले युवाको सिर्जनशीलता र क्षमतालाई विकासको मूलधारसँग जोड्न स्थानीय सरकार प्रतिबद्ध रहेको जनाउनुभएको छ।

अन्त्यमा उहाँले युवालाई निराशा, विभाजन र गुनासोको नभई सम्भावना, एकता, विश्वास र उज्ज्वल भविष्यको कथा लेख्न आह्वान गर्नुभएको छ।

Facebook Comments