दाङ। दाङको घोराही–रामपुर–हासीपुर सडकखण्डको स्तरोन्नति भएपनि खोलामा पुल निर्माण हुन नसक्दा वर्षातको समयमा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ ।
बीपी मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा दैनिक तीन वटा बस सञ्चालन हुने गरेपनि बर्षादका कारण खोलामा आउने पानीले सडक विग्रादा यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको छ । खासगरी घोराही उपमहानगरपालिका–१ र बंगलाचुली गाउँपालिका–४ जोड्ने सुकाखोलामा पुल निर्माणको काम ढिलाइ हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ ।
सुकाखोलामा सडक बिग्रिदा साउन २४ गते घोराहीबाट बंगलाचुलीतर्फ जाँदै गरेको बस फसेपछि ट्याक्टरको सहयोगमा निकाल्नुपरेको बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी बिक्रम डाँगी बताउँछन् । उनका अनुसार सुकाखोलासँगै मानाखोला र अर्जुनखोलाका कारण बर्षातको समयमा सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।
‘ग्राभेलसँगै सडक राम्रो बनेपनि खोलामा पुल निर्माणमा ढिलाइ भइरहेको छ’,उनले भने,‘जसले गर्दा हिउँदमा गाडी सञ्चालन भए पनि वर्षातको समयमा समस्या हुने गरेको छ ।’ सुकाखोलाबाट बंगलाचुली गाउँपालिकाअन्तर्गत पर्ने मुलावारी, हासीपुरतर्फ गाडी जान नसक्दा स्थानीयवासीलाई पैदल हिँड्नुपर्ने बाध्यता रहेको बंगलाचुली गाउँपालिका–८ हाँसीपुर निवासी बेगम गाहा मगर बताउँछन् ।
सडक ग्राभेलसँगै स्तरोन्नति गरिए पनि पुल नहुँदा वर्षातको समयमा हरेक वर्ष स्थानीयले यातायातको समस्या भोग्नु परेको उनको भनाई छ । सुकाखोलामा पुल निर्माणको काम भइरहेको भएपनि निर्माण व्यवसायीले बजेट अभाव देखाउँदै निर्माणमा ढिलाइ गरेको छ । सुकाखोलामा पुल निर्माणका लागि २०८१ साउन १ गते सनलाइट–जेडी–स्मृति–विशाल जेभीसँग चार करोड पाँच लाख आठ हजार ७८२ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ पुस मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म करिव ५० प्रतिशत मात्र काम भएका गरेको छ ।
समयमै पुल निर्माण हुन नसक्दा बंगलाचुली गाउँपालिका–७ र ८ सँगै वडा नं. ३, ४, ५ र ६ अन्तर्गतका गहतेरा, मुलाबारी, स्वामिघाट, हाँसीपुर, कोइरालेलगायतका बस्तीका स्थानीयवासीलाई घोराही आउजाउ गर्न समस्या भएको बंगलाचुली गाउँपालिका वडा नं. ७ का अध्यक्ष गिरबहादुर थापा बताउँछन् । वडा अध्यक्ष थापाका अनुसार सुकाखोलामा मात्रै नभई वर्षातको समयमा मानाखोला र अर्जुनखोलामा समेत पुल नहुँदा यातायात सञ्चालनमा समस्या भइरहेको जतिसक्यो चाडै पुल निर्माणका लागि स्थानीय सरकारका रुपमा पहल भइरहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

