घोराही । जिल्ला प्रशासन कार्यालय दाङले ग्यास सप्लायर्समा छड्के अनुगमन गरेको छ । लामो समयदेखि बजारमा निरन्तर ग्यास अभाव भएको जनगुनासो बढ्दै गएपछि आज सोमबार दिउँसो घोराही र नारायणपुरका विभिन्न ग्यास सप्लायर्सहरुमा प्रशासनले अनुगमन गरेको हो ।
नेपाल आयल निगमले ग्यास अभाव नरहेको दावी गरेपनि पछिल्लो समय बजारमा ग्यास अभाव कायमै रहेको छ । दिनप्रतिदिन बजारमा ग्यास अभाव बढ्दै गएपछि त्यसको वास्तविक समस्या पहिचान गर्न प्रशासनले घोराही उपमहानगरपालिका -१५ स्थित गणेश सप्लायर्स, न्यू किरण ट्रेडस, न्यू उषा सप्लायर्समा अनुगमन गरेको छ । त्यस्तै घोराही उपमहानगरपालिका -१० नारायणपुरस्थित केसी ग्यास सप्लायर्स, त्रिशुल ग्यास सप्लायर्स र नारायणपुर जर्नल स्टोरमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा भुपेन्द्र सिंह थापाले ग्यास वितरणलाई सहज बनाउन ग्यास सप्लायर्सहरुलाई आग्रह गर्नुभएको छ । उहाँले ग्यासको दैनिक माग, वितरण प्रणाली र आपूर्ति लगायतका जानकारी लिनुभएको थियो ।
ग्यास उद्योगले मागअनुसारको ग्यास नपठाउदा उपभोक्ताहरुलाई ग्यास पुर्याउन नसकिएको ग्यास सप्लायर्सहरुले जानकारी दिएका थिए । उनीहरूले चार-पाँच दिनको फरकमा ग्यास आउने गरेको हुँदा दैनिक मागलाई धान्न नसकिएको र ग्यास आपूर्ति सहज व्यवस्थापन गरिदिन समेत प्रशासनसमक्ष माग राखेका थिए । उपभोक्ताहरुले पछिल्लो समय घरघरमा अनावश्यक ग्यास स्टक राख्दा ग्यासको अभाव देखिएको उल्लेख गर्दै अब ग्यास सप्लायर्समा नभएर घरघरमा अनुगमन गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यालयका नायब सुब्बा भुपेन्द्र सिंह थापाको नेतृत्वमा गएको टोलीले बजारमा भएका राप्ती, भेरी र मनकामना ग्यास उद्योगका ग्यास सप्लायर्सहरुमा अनुगमन गरेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

