दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ।
प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई लमहीमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढी देखिएको बताउनुभयो । उहाँले यसलाई प्रदेशकै सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषयका रूपमा उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखि नै सडक सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर युवालाई प्रशिक्षित र अनुशासित बनाउनुपर्ने बताउनुभयो । प्रदेश सरकारले यसमा आवश्यक साझेदारी गर्न तयार रहेको उहाँको भनाइ थियो ।
उहाँले दाङ, बाँके, कपिलवस्तु र रुपन्देहीमा सवारी दुर्घटना बढी हुने गरेको उल्लेख गर्दै तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागूऔषधको प्रयोग दुर्घटनाका प्रमुख कारण रहेको बताउनुभयो । लागूऔषध नियन्त्रणमा सबै जिम्मेवार निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले पुराना सवारीसाधन, गुणस्तरहीन सडक र चालकको लापरबाहीले पनि दुर्घटना बढाइरहेको उल्लेख गर्दै प्राविधिक रूपमा उपयुक्त र गुणस्तरीय सडक मात्र निर्माण गर्नुपर्ने बताउनुभयो ।‘बलियो र गुणस्तरीय सडक निर्माणसँगै सवारी नियमको कडाइका साथ पालना गराउन सके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो ।
उहाँले नागरिक समाजलाई सुसूचित गर्दै बालबालिकालाई कुलतबाट टाढा राख्नुपर्ने, समाजमा बढ्दै गएको विकृति, विसंगति र अराजकता नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । दुर्घटनापछि घाइतेको समयमै उद्धार र उपचारको व्यवस्था सुनिश्चित गर्दै मानवीय भावना र जिम्मेवार समाज निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले सवारी दुर्घटना न्यूनीकरणका लागि नियम कानुनको इमान्दारीपूर्वक पालना र सडक सुरक्षा सम्बन्धी प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नीति तथा योजना आयोगका फोकल पर्सन शंकरसिंह धामीले लुम्बिनी प्रदेशको पाँच वर्षको सडक दुर्घटना विश्लेषण प्रस्तुत गर्दै प्रदेशमा आर्थिक वर्ष २०७७\७८ देखि २०८१\८२ सम्म ७ हजार ८ सय ६६ सवारी दुर्घटना भएको जानकारी दिनुभयो । ती दुर्घटनामा २ हजार ५ सय २५ जनाको मृत्यु, ५ हजार ४ सय १६ जना गम्भीर घाइते र ६ हजार ८ सय ४ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा संलग्न सवारीमध्ये ६ हजार २ सय ७१ वटा दुईपाङ्ग्रे रहेका छन्, जुन कुल दुर्घटनाको करिब ५७ प्रतिशत हो । अधिकांश दुर्घटना साँझ ६ बजेदेखि मध्यरातसम्म हुने गरेका छन् भने करिब ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको विश्लेषणमा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीसहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा ‘मृत्यु र गम्भीर घाइते शून्यमा झारौँ’ भन्ने लक्ष्यसहित सडक सुरक्षा प्रवद्र्धनका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

