पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरले आगामी शैक्षिक सत्र २०८४ देखि विद्यालय तहका विभिन्न कक्षामा नयाँ पाठ्यपुस्तक तथा परिमार्जित पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ। केन्द्रले एक सूचना जारी गर्दै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र सम्पूर्ण सरोकारवालाहरूलाई यस सम्बन्धी जानकारी गराएको हो।
केन्द्रका पाठ्यक्रम अधिकृत कुमार घिमिरेका अनुसार सामाजिक अध्ययन विषयको कक्षा ४ देखि १२ सम्मको पाठ्यक्रमका आधारमा तयार पारिएका कक्षा ५, ८, १० र १२ का नयाँ पाठ्यपुस्तकहरू शैक्षिक सत्र २०८४ देखि लागू हुनेछन्। पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सिफारिस र मन्त्रालयको निर्णयबमोजिम उक्त पाठ्यपुस्तकहरू स्वीकृत भइसकेका छन्।
यसैगरी आधारभूत तहका कक्षा १ देखि ३ सम्मको परिमार्जित पाठ्यक्रम २०८२ र प्रारम्भिक बालविकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम २०८२ समेत शैक्षिक सत्र २०८४ देखि नै लागू गरिने भएको छ। तोकिएको समयदेखि नै परिमार्जित पाठ्यक्रम र नयाँ पाठ्यपुस्तकहरू कार्यान्वयनमा ल्याउन केन्द्रले सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

