दाङ। घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहले शुक्रबार ज्यामिरे दह परिसरमा सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
पर्यावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा पर्यटकीय क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
समूहकी अध्यक्ष रीना बस्नेतका अनुसार सामुदायिक वन क्षेत्रभित्र रहेको प्रसिद्ध पर्यापर्यटकीय गन्तव्य ज्यामिरे दह तथा नाग गुफा परिसरमा विभिन्न प्रजातिका फूलका बिरुवाहरू रोपिएका छन्। प्राकृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई अझ आकर्षक, हरियालीयुक्त र पर्यटकमैत्री बनाउने लक्ष्यसहित सामूहिक रूपमा वृक्षारोपण गरिएको उहाँले बताउनुभयो।
अध्यक्ष बस्नेतले ज्यामिरे दह पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको उल्लेख गर्दै प्राकृतिक सौन्दर्य संरक्षणसँगै वातावरणीय सन्तुलन कायम राख्न यस्ता अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय समुदायको सक्रिय सहभागिताले वन संरक्षण र पर्यावरण जोगाउने अभियानलाई थप प्रभावकारी बनाएको छ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता, स्थानीय बासिन्दा तथा समूहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपण मात्र नभई रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा पनि सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
४८३.५ हेक्टर क्षेत्रफलमा फैलिएको ज्यामिरे दह सामुदायिक वन जैविक विविधता, हरियाली र प्राकृतिक सौन्दर्यका कारण दाङ जिल्लाको महत्वपूर्ण पर्यापर्यटकीय गन्तव्यका रूपमा परिचित छ। वन क्षेत्रमा रहेको ज्यामिरे दह, नाग गुफा तथा आसपासका प्राकृतिक दृश्यले वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ। स्थानीयवासीले यस्ता संरक्षणमुखी अभियानले वन क्षेत्रको दीर्घकालीन संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

