दाङ । दाङमा सञ्चालन भइरहेको घोराही–रामपुर–सिमलतारा विद्युतीय सार्वजनिक यातायात सेवा कुनै पनि अवस्थामा नरोकिने अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिका उपाध्यक्ष मतिलाल न्यौपानेले बताउनुभएको छ।
उपाध्यक्ष न्यौपानेले कानुनी प्रक्रिया पूरा गरेर रुट परमिटका आधारमा सेवा सञ्चालन गरिएको भन्दै केही पक्षको विरोधका कारण सेवा बन्द नहुने स्पष्ट पार्नुभयो। उहाँका अनुसार हाल दैनिक तीनवटा विद्युतीय सार्वजनिक सवारीमार्फत सेवा प्रदान भइरहेको छ भने घोराही–सिमलतारा रुटमा ८० रुपैयाँ भाडादर कायम गरिएको छ।
उहाँले केही अटो व्यवसायीको अनावश्यक विरोधका कारण नागरिकले पाउनुपर्ने सहज सार्वजनिक यातायात सेवामा अवरोध सिर्जना भएको आरोप लगाउँदै, सम्बन्धित निकायले तोकेका सबै मापदण्ड पूरा गरेर सेवा सञ्चालन भइरहेको बताउनुभयो।
प्रालिले आगामी दिनमा दाङका अन्य ग्रामीण रुटमा पनि विद्युतीय सार्वजनिक सवारी विस्तार गर्ने योजना रहेको जनाएको छ। वातावरणमैत्री, सुरक्षित, किफायती र सर्वसुलभ यातायात सेवा गाउँदेखि शहरसम्म पुर्याउने लक्ष्यका साथ सेवा निरन्तर सञ्चालन हुने प्रालिको भनाइ छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

