घोराही । दाङको घोराहीस्थित फोरके एरिना द्वारा आयोजित दुईदिने क्रिक्सल प्रतियोगिताको उपाधि अम्बिकेश्वरी क्याम्पसले जितेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा अम्बिकेश्वरीले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
पहिले ब्याटिङ गरेको देउखुरीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ५४ रन बनाएको थियो। टोलीका लागि सन्दीप थापाले १४ तथा राजकुमार कुमालले १३ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंक छुन सकेनन्। अम्बिकेश्वरीका आयुष वली, दीक्षा ठकुरी र मनोज पुनले समान १–१ विकेट लिए।
५५ रनको सामान्य लक्ष्य पछ्याएको अम्बिकेश्वरीका मनोज पुनले उत्कृष्ट प्रदर्शन गर्दै १९ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ३६ रन बनाएपछि टोलीले सहज जित निकाल्यो। देउखुरीका सुरज धिताल र राजकुमार कुमालले समान १–१ विकेट लिए।
उपाधिसँगै अम्बिकेश्वरीले नगद रु। ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता देउखुरीले नगद रु। १५ हजार, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
व्यक्तिगत विधातर्फ मनोज पुन म्यान अफ द सिरिजु, सन्दीप थापा बेस्ट ब्याटरु तथा आयुष वली बेस्ट बलरु घोषित भए।
दाङमै पहिलोपटक आयोजना गरिएको यस प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो। फोरके एरिनाका प्रबन्ध निर्देशक विपिन बुढाथोकीले दाङमा क्रिक्सल खेलको लोकप्रियता बढाउन प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
क्रिकेट संघ र पत्रकार महासंघ दाङबीच मैत्रीपूर्ण प्रतियोगिता
यसैबीच, दाङ क्रिकेट संघ र नेपाल पत्रकार महासंघ दाङबीच मैत्रीपूर्ण क्रिक्सल प्रतियोगिता पनि सम्पन्न भएको छ। खेलमा दाङ क्रिकेट संघले पत्रकार टोलीलाई ३३ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको क्रिकेट संघले २ विकेटको क्षतिमा ८३ रन बनाएको थियो। टोलीका लागि बालकृष्ण खत्रीले ३४, सन्दीप घर्तीले २२ तथा प्रदीप मज्गैयाले १५ रन जोडे। पत्रकार टोलीका बलरतर्फ हिमाल महराले २ ओभरमा ११ रन खर्चेर १ विकेट तथा सबिन प्रियासनले १ ओभरमा २१ रन दिएर १ विकेट लिए।
८४ रनको लक्ष्य पछ्याएको पत्रकार टोली ५० रनमै समेटियो। भागवत अधिकारीले १३, विपुल पोख्रेलले ११ तथा हिमाल महराले ८ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

