• १० श्रावण २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा कोडफेस्ट–२०२६ सञ्चालन हुँदै




घोराही । दाङमा सूचना प्रविधिमा अध्ययनरत विद्यार्थीहरूको नवप्रवर्तन, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमताको विकास गर्ने उद्देश्यले कोडफेस्ट–२०२६ सञ्चालन हुने भएको छ । कोड फर चेन्ज–दाङ टिमको आयोजना हुने ‘कोडफेस्ट २०२६–दाङ एडिसन’ सञ्चालन हुने भएको हो ।टिमले आज आइतबार घोराहीमा पत्रकार सम्मेल गर्दै यही साउन १५, १६ र १७ गते तीन दिनसम्म ह्याकाथन, अनलाइन आइडियाथन तथा प्रोजेक्ट शोकेस घोराहीस्थित अम्बिकेश्वरी क्याम्पसमा सञ्चालन हुने जानकारी दिएको छ ।

प्रोजेक्ट लिड जगदीश वलीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि पोख्रेलले कोड फेस्ट यो आइटी अध्ययनरत विद्यार्थीहरुका लागि महामेला भएको बताउनुभयो । उहाँले हरेक क्षेत्रमा आइटीको महत्त्व अपरिहार्य भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थी, व्यवसाय र सम्बन्धित क्षेत्रका लागि निकै लाभदायक हुने कुरामा जोड दिनुभयो । अध्ययन गर्दै त्यससँग सम्बन्धित संस्था स्थापना गरी नयाँ अवसर प्रदान गर्नु नै सबैभन्दा उत्कृष्ट काम भएको र यस्ता संस्थालाई अझै सफल र अब्बल बनाउँदै निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले कोड फेस्टलाई एउटा प्रतियोगिता मात्र नभई विद्यार्थीहरुको नवीन सोचलाई व्यवहारिकता लैजानुपर्ने बताउनुभयो । उहाँले यस कार्यक्रमबाट विद्यार्थीहरुमा एक आपसमा प्राविधिक दक्षता, टोलीमा काम गर्ने क्षमता, नेतृत्व विकास तथा नेटवर्किङको ज्ञान विस्तार हुने बताउनुभयो । यस कार्यक्रमले विद्यार्थीहरुमा भएका सिर्जनात्मक र रचनात्मक नवीनतम खोज तथा अनुसन्धानलाई बाहिर ल्याउने अपेक्षा समेत व्यक्त गर्नुभएको थियो ।

टेक लिड निसा मरासिनीको स्वागत मन्तव्यबाट सुरुभएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पत्रकार महासंघ दाङ पूर्व अध्यक्ष सुदीप गौतम,
अम्बिकेश्वरी क्याम्पसका प्राध्यापक नवराज बसेल लगायतले आइटी क्षेत्रको अवसर, सम्भावना र चुनौती लगायतका विषयमा बोल्नुभएको थियो ।

नेपालका प्रविधि क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई नवीन सोचलाई व्यवहारिक सफ्टवेयर वा हार्डवेयर प्रोटोटाइपमा रूपान्तरण गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकका प्रोजेक्ट लिड जगदीश वलीले जानकारी दिनुभयो । उहाँले विशेषगरी सैद्धान्तिक शिक्षालाई व्यवहारिक अभ्याससँग जोड्दै विद्यार्थीहरूलाई वास्तविक सामाजिक समस्याको प्रविधिमार्फत समाधान खोज्न प्रेरित गर्ने लक्ष्य रहेको बताउनुभयो । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई आधार बनाएर स्वास्थ्य, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, उद्योग तथा नवप्रवर्तन, दिगो शहर, जलवायु परिवर्तन र सुशासनलगायत विषयमा समाधानमुखी परियोजना विकास गरिने समेत उहाँको जोड थियो ।

प्रोजेक्ट लिड वलीका अनुसार प्रतियोगितामा ब्याचलर तहका विद्यार्थीका लागि भौतिक ह्याकाथन, कक्षा ११ र १२ का विद्यार्थीका लागि अनलाइन आइडियाथन तथा विद्यालय तहका विद्यार्थीका लागि प्रोजेक्ट शोकेस सञ्चालन गरिने छ । ब्याचलर तहको प्रत्येक टोलीमा दुईदेखि चार जना सदस्य रहने व्यवस्था गरिएको छ। कार्यक्रममा गत वर्ष आठ टिम सहभागी रहेको थियो भने यो वर्ष १० टिमले सहभागिता रहने उहाँले बताउनुभयो ।

दाङ संस्करणबाट उत्कृष्ट हुने टोलीहरूले काठमाडौंमा आयोजना हुने राष्ट्रिय फाइनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । राष्ट्रिय चरणमा तीन दिन दुई रातसम्म चल्ने कार्यक्रममा अन्तिम प्रोटोटाइप विकास र प्रस्तुति गरिनेछ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा कार्यक्रम संयोजक कमल भट्टराईले गर्नुभएको थियो ।

Facebook Comments