• १० श्रावण २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरियो, पाँचै मन्त्रीको राजीनामा




एमाले–नेकपा सहकार्यपछि नयाँ सत्ता समीकरण, सरकार पुनर्गठनको तयारी

दाङ। लुम्बिनी प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ। नेकपा एमाले र नेकपाबीच सरकार गठनका लागि सहकार्य अघि बढेपछि कांग्रेसका पाँचै जना मन्त्रीले पदबाट राजीनामा दिएका हुन्।

कांग्रेसबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले आफ्नो राजीनामा कांग्रेस संसदीय दललाई बुझाएका छन्।

कांग्रेस प्रमुख सचेतक जमुना ढकालका अनुसार आइतबार सार्वजनिक बिदा र मुख्यमन्त्री चेतनारायण आचार्य देउखुरी बाहिर रहेकाले राजीनामा तत्काल बुझाउन नसकिएको हो। उनले सोमबार संसदीय दलको तर्फबाट सामूहिक रूपमा मुख्यमन्त्रीलाई राजीनामा बुझाइने र सोही दिन स्वीकृत गर्ने समझदारी भएको जानकारी दिइन्।

नयाँ सत्ता समीकरणको तयारी
लुम्बिनी प्रदेशमा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार रहेको थियो। तर केन्द्रको नयाँ राजनीतिक समीकरणअनुसार कांग्रेस सरकारबाट बाहिरिएपछि अब १३ सांसद रहेको नेकपा सरकारमा सहभागी हुने तयारीमा छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद छन्। तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ (सभामुखसहित), राप्रपाका ४, जनमत पार्टीका ३, जसपा नेपालका २, लोसपाका २ तथा जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक सांसद छन्।

बहुमतका लागि साना दलको साथ आवश्यक
प्रदेशसभामा स्पष्ट बहुमतका लागि एमाले–नेकपा गठबन्धनलाई अझै एक साना दल वा स्वतन्त्र सांसदको समर्थन आवश्यक पर्ने अवस्था छ। यही कारण हाल सरकारमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सत्ता साझेदारकै रूपमा निरन्तरता दिने तयारी भइरहेको स्रोतले जनाएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले कांग्रेसका मन्त्रीहरूको राजीनामा आउने जानकारी प्राप्त भइसकेको र केन्द्रको नयाँ समीकरणअनुसार सरकार पुनर्गठनका लागि छलफल सुरु भएको बताए।

‘कांग्रेसका साथीहरूको राजीनामा आउने जानकारी आएको छ। त्यसैले नेकपासँगै सरकारमै रहेको लोसपालाई पनि साथमा राखेर अघि बढ्ने तयारी छ,’ उनले भने।

मुख्यमन्त्री आचार्यका अनुसार केन्द्रबाट प्राप्त निर्देशनअनुसार एक–दुई दिनभित्रै नयाँ मन्त्रिपरिषद् विस्तार गर्ने प्रक्रिया अघि बढाइनेछ।

Facebook Comments