दाङ । दाङमा पछिल्ला तीन दिनयता विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक बरामद हुने क्रम जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका भरुवा बन्दुकहरू विशेष सूचनाका आधारमा फेला परिरहेका छन्।
यसक्रममा बंगलाचुली गाउँपालिका–८ अन्तर्गत घोरलभिर भनेर चिनिने पीपली जंगलको झाडीमा लुकाइराखिएको अवस्थामा ११ थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी डा. हेमबहादुर केसीका अनुसार प्रहरी चौकी रामपुरबाट प्रहरी सायक निरिक्षक टेक बहादुर कुसारीको नेतृत्वमा खटिएको टोलीले जंगलका विभिन्न स्थानमा लुकाइराखिएका बन्दुकहरू बरामद गरेको हो।
यसअघि मंगलबार लमही नगरपालिका–१ नर्तीस्थित बकेन सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला परेको थियो। त्यसैगरी सोमबार लमही नगरपालिका–९ को च्याउखोला क्षेत्रस्थित बिरह सामुदायिक वनबाट पनि बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएका सबै बन्दुकबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

