• ६ श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संजीवनी शिक्षण अस्पतालमा जटिल न्यूरो सल्यक्रिया सफल, तीन वर्षीया बालिकाले पाइन् नयाँ जीवन




घोराही । संजीवनी टिचिङ हस्पिटल दाङले पश्चिम नेपालमै दुर्लभ मानिने जटिल न्यूरो सर्जरी सफलतापूर्वक सम्पन्न गर्दै स्वास्थ्य सेवाको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। दाङको दङ्गीशरण गाउँपालिका–३ निवासी निर्मला थापाकी तीन वर्षीया छोरी सङ्गीता थापाको हाइड्रोसेफलस (Hydrocephalus) सम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि उनलाई पूर्ण स्वास्थ्य लाभतर्फ उन्मुख अवस्थामा अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिनुभयो । हाइड्रोसेफलस मस्तिष्कमा सेरेब्रोस्पाइनल फ्लुड (Cerebrospinal Fluid–CSF) नामक तरल पदार्थ अत्यधिक मात्रामा जम्मा हुने अवस्था हो। यो तरल पदार्थको मात्रा असामान्य रूपमा बढेपछि मस्तिष्कभित्रको चाप बढ्न जान्छ, जसका कारण विशेषगरी बालबालिकामा टाउको अस्वाभाविक रूपमा ठूलो हुने, निधार फुल्ने, बान्ता हुने, शरीर कमजोर हुने, बस्न वा टाउको धान्न नसक्ने, बेचैन हुने, दृष्टि तथा मानसिक विकासमा असर पर्ने जस्ता गम्भीर समस्या देखिने गर्छन्। समयमै उपचार नगरिए यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पार्न सक्ने चिकित्सकहरू बताउँछन्।

अस्पतालका अनुसार सङ्गीतालाई अस्पताल ल्याउँदा उनको टाउको अत्यधिक ठूलो भइसकेको थियो। निधार निकै फुलेको, मस्तिष्कमा चाप अत्यधिक बढेकाले उनले आफ्नै टाउको धान्न सक्ने अवस्था थिएन। उनी राम्रोसँग बस्न पनि सक्दिनथिन्। लगातार बान्ता हुने, अत्यधिक बेचैन हुने तथा दैनिक क्रियाकलापसमेत प्रभावित भएको अवस्था रहेको अस्पतालले जनाएको छ।यस्तो जटिल अवस्थाको सफल व्यवस्थापन गर्दै संजीवनी टिचिङ हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा. मुसाफिर आलमको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सक तथा प्राविधिक टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरी सफल न्यूरो सल्यक्रिया सम्पन्न गरेको हो। शल्यक्रियापछि मस्तिष्कभित्रको चाप उल्लेखनीय रूपमा घटेको, लगातार भइरहेको बान्ता पूर्ण रूपमा रोकिएको, बालिका पहिलेको तुलनामा निकै सक्रिय र टाठो देखिएको तथा स्वास्थ्य अवस्थामा सकारात्मक सुधार आएको अस्पतालले जनाएको छ।

उपचारमा संलग्न चिकित्सक बरीष्ट न्युरो सर्जन डा. मुसाफिर आलमका अनुसार शल्यक्रिया सफल भएपछि बालिकाको स्वास्थ्य अवस्था निरन्तर सुधारोन्मुख रहेको जानकारी दिनुभयो। नियमित निगरानी तथा आवश्यक परीक्षणपछि स्वास्थ्य अवस्था सन्तोषजनक देखिएकाले उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको डा. आलमले बताउनुभयो । आगामी दिनमा नियमित फलोअप र चिकित्सकीय परामर्शअनुसार उपचारलाई निरन्तरता दिन परिवारलाई सुझाव दिइएको छ। बालिकाका अभिभावकका अनुसार छोरीको समस्या करिब दुई वर्षअघि नै पहिचान भएको थियो। त्यसबेला विभिन्न चिकित्सकहरूले थप उपचारका लागि काठमाडौं लैजान सल्लाह दिएका थिए। तर आर्थिक अवस्था कमजोर भएका कारण राजधानीमा गएर उपचार गराउन सम्भव भएको थिएन। उपचार नपाउँदा बालिकाको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको थियो। अन्ततः संजीवनी टिचिङ हस्पिटल दाङमै विशेषज्ञ न्यूरो सर्जरी सेवा उपलब्ध भएपछि उनीहरूले यहीँ उपचार गराउने निर्णय गरेका थिए।

अभिभावकले सहुलियत दरमा आफ्नै जिल्लामा गुणस्तरीय सेवा पाएकोमा अस्पतालप्रति आभार व्यक्त गर्दै भने, “हामी आर्थिक अभावका कारण काठमाडौं जान सकेका थिएनौं। छोरीको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको थियो। अहिले दाङमै सफल उपचार भएपछि हामीलाई ठूलो राहत मिलेको छ। अस्पताल र सम्पूर्ण चिकित्सक टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।” संजीवनी टिचिङ हस्पिटलले केही समयअघि मात्रै पश्चिम नेपालमा अभाव रहेको न्यूरो सर्जरी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको थियो। वरिष्ठ न्यूरो सर्जन डा. मुसाफिर आलमको नेतृत्वमा सञ्चालन भइरहेको यो सेवाअन्तर्गत मस्तिष्क, मेरुदण्ड तथा स्नायु प्रणालीसँग सम्बन्धित जटिल रोगहरूको परीक्षण, उपचार तथा शल्यक्रिया नियमित रूपमा हुँदै आएको अस्पतालले जनाएको छ। हाइड्रोसेफलसको यो सफल शल्यक्रिया सेवा सञ्चालनपछि सम्पन्न भएका सबैभन्दा जटिल तथा चुनौतीपूर्ण शल्यक्रियामध्ये एक भएको अस्पतालको दाबी छ।

हाल अस्पतालमा दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नियमित न्यूरो ओपीडी सेवा सञ्चालन भइरहेको छ भने चौबीसै घण्टा आकस्मिक न्यूरो सर्जरी सेवा पनि उपलब्ध छ। न्यूरो सर्जरीका बिरामीका लागि छुट्टै अत्याधुनिक न्यूरो आईसीयू, समर्पित मोडुलर अपरेशन थिएटर (Dedicated Modular OT) , ब्लड बैंक, आधुनिक उपकरण तथा दक्ष चिकित्सक–प्राविधिक टोलीको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार यस सेवाको विस्तारसँगै अब साविक राप्ती क्षेत्र, लुम्बिनी प्रदेश तथा पश्चिम नेपालका विभिन्न जिल्लाका न्यूरो सम्बन्धी जटिल रोगका बिरामीहरूले उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता क्रमशः कम हुँदै जाने विश्वास लिइएको छ। समयमै विशेषज्ञ सेवा, अत्याधुनिक प्रविधि तथा सहुलियतपूर्ण उपचार उपलब्ध गराउने लक्ष्यका साथ अस्पतालले न्यूरो सर्जरी सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

यस सफल शल्यक्रियाले पश्चिम नेपालमै जटिल न्यूरो सर्जरी सम्भव रहेको सन्देश दिएको अस्पतालको भनाइ छ। साथै, गुणस्तरीय स्वास्थ्य सेवा विकेन्द्रीकरण गर्दै प्रदेशमै अत्याधुनिक उपचार उपलब्ध गराउने दिशामा संजीवनी टिचिङ हस्पिटलले महत्वपूर्ण उपलब्धि हासिल गरेको अस्पताल प्रशासनले जनाएको छ।

Facebook Comments