मधुसूदन गिरी
कमिरेचौर । दाङको बंगलाचुलीमा खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बचेनि युवा क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो । युवा क्लबका अध्यक्ष भोजराज डाँगीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले खेलकुदले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय तहबाट खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले खेलकुद प्रतियोगिताले स्वास्थ्य सँगै युवा तथा खेलाडीको चरित्र निर्माण गर्ने बताउनुभएको थियो । साथै उहाँले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र विकासमा टेवा पुग्ने उल्लेख गर्दै गाउँपालिकाले खेलकुद पूर्वाधार विकास तथा खेलाडी प्रोत्साहनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्मा, बंगलाचुली बनाऔ अभियानका संयोजक सुशील परियार लगायले बोल्नुभएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले नगद ८ हजार रुपैयाँ, द्वितीयले ५ हजार रुपैयाँ र तृतीयले ४ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी महिलातर्फ प्रथम हुने टोलीलाई ४ हजार रुपैयाँ तथा द्वितीय हुने टोलीलाई ३ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले बताएको छ ।
प्रतियोगितामा पुरुष तर्फ १४ वटा र महिला तर्फ ४ वटा टिमको सहभागीता रहेको छ । कार्यक्रमको सहजिकरण बचेनी युवा क्लबका सचिव थमन परियारले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

