दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बंगलाचुली गाउँपालिकाको पार्टी कार्यालय बुधबार बंगलाचुली गाउँपालिका–४ कमिरेचौरमा हिन्दु धर्मअनुसार विधिवत् पूजा–आराधनासहित उद्घाटन गरिएको छ।
बंगलाचुली गाउँपालिका सभापति विक्रम डाँगीको सभापतित्व तथा पार्टीकी केन्द्रीय सदस्य शर्मिला खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता र जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्मिला खनालले रास्वपा जनअपेक्षाअनुसार स्वच्छ राजनीति, सुशासन र उत्तरदायी नेतृत्वको पक्षमा निरन्तर अघि बढिरहेको बताइन्। गाउँ–गाउँसम्म संगठन विस्तार गर्दै नागरिकका समस्या समाधानमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्दै उनले नयाँ कार्यालयले पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रमका सभापति विक्रम डाँगीले बंगलाचुलीमा रास्वपाको संगठनलाई अझ सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। पार्टी कार्यालय केवल भौतिक संरचना नभई जनताको विश्वास, सुझाव र समस्याको सुनुवाइ हुने साझा केन्द्रका रूपमा विकास गरिने उनले बताए।
कार्यक्रममा क्षेत्रीय सभापति रविन्द्र केसी, जिल्ला सभापति किरण खनाल तथा प्रदेश सदस्य विष्णु प्रसाद गौतमले शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीको संगठन विस्तार र जनसेवालाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। उक्त अवसरमा विभिन्न व्यक्तिहरूलाई पार्टी प्रवेश गराइएको थियो भने कार्यालय स्थापना तथा उद्घाटनमा सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
पालिका उपसभापति नव क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँपालिका सचिव हेमन्त खनालले गरेका थिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

