दाङ । पछिल्लो एक साताभित्र आत्मदाहको प्रयास गरेका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ। वीर अस्पतालमा दुई जना र कीर्तिपुरस्थित बर्न अस्पतालमा एक जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा काठमाडौंको बुद्धनगरका ४५ वर्षीय आश्विन राउत, मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डल रहेका छन्। राउत र गणेश नेपालीको वीर अस्पतालमा तथा विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
आश्विन राउतले आफ्नै घरको भान्साकोठामा आत्मदाहको प्रयास गरेका थिए। घटनालगत्तै प्रहरीले उद्धार गरी वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरेको थियो। उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उपचारकै क्रममा गत शनिबार उनको मृत्यु भएको हो।
त्यस्तै, गणेश नेपालीले गत बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा उनको पनि निधन भयो।
सर्लाहीका विवेक मण्डललाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक डा। किरण नकर्मीका अनुसार आज राति करिब २ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो।
यसैबीच, स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा ३७ हजार ४३८ जना जलनका बिरामी उपचारका लागि पुगेका छन्।
यद्यपि, जलन उपचारका लागि आवश्यक विशेषज्ञ चिकित्सकको अभाव गम्भीर समस्याका रूपमा देखिएको छ। विशेषगरी प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जन, जलन विशेषज्ञ, जनरल सर्जन र फिजियोथेरापिस्टको कमीले बिरामीको उपचार प्रभावित हुने अवस्था रहेको सरोकारवालाहरूले बताएका छन्। जलन उपचारको मुख्य जिम्मेवारी सम्हाल्ने प्लास्टिक सर्जरी विधामा दर्ता भएका विशेषज्ञ चिकित्सकको संख्या अत्यन्त न्यून रहेको तथ्यांकले देखाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

