दाङ । घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतमाथि मोविल छर्किएको आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन्। उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए।
प्रहरीका अनुसार असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी बुढाथोकीले उनको शरीरमा मोविल छर्किएका थिए। घटनापछि उनी फरार भएका थिए।

उक्त घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता गरिएको थियो। त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि असार २९ गते घोराही उपमहानगरपालिका–१५ मै लुकिछिपी बसेको अवस्थामा प्रहरीले बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

